दाङको सुपर लघुवित्त संस्थाका सञ्चालक ज्योतिप्रसाद चौधरीलाई करिब ३३ करोड रूपैयाँ अपचलन आरोपमा उच्च अदालत तुलसीपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ।
न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले सोमबार चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको उच्च अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए।
अदालतको आदेशलगतै चौधरीलाई तुलसीपुर कारागार चलान गरिएको छ। दंगीशरण गाउँपालिका-५ मिरौलीका ५६ वर्षीय चौधरी पूर्वशिक्षक समेत हुन्।
उनले सुरूमा उक्त संस्था एनजिओका रूपमा सञ्चालन गरेका थिए। पछि त्यसलाई लघुवित्तमा परिणत गरे।
एनजिओ हुँदा नै २०७९ सालमा सञ्चालक समिति र कर्मचारीसमेत ३३ जनाविरूद्ध उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो।
त्यसको एक वर्षमा लघुवित्त संस्थामा परिणत गरिएपछि फेरि पूरक अभियोग दर्ता गरियो र थप २३ जनालाई प्रतिवादी बनाइयो। थपिएका प्रतिवादीमध्ये ९ जना फरार छन्।
मुख्य प्रतिवादी चौधरीले पुस २१ गते सोमबार अदालतमा आत्मसमर्पण गरेका थिए। सोमबारै भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।
उच्च अदालतको मुद्दा तथा रिट शाखाका सुब्बा केशव केसीका अनुसार यो मुद्दाका ३३ जना प्रतिवादीलाई यसअघि धरौटीमा छाडिएको थियो।
विगतमा तुलसीपुरको आलुमण्डी नजिकै केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त संस्था पछिल्लो समय गुल्मचोक नजिकै सारिएको थियो।
सञ्चालक चौधरीले नक्कली ऋणी खडा गरेर बचतकर्ताको रकम हिनामिना गरेको प्रहरी प्रतिवेदनमा छ। उनले आफ्नो परिवारका विभिन्न सदस्यका नामबाट ३३ करोडमध्ये सबभन्दा बढी रकम अपचलन गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
फरार ९ जनामध्ये अधिकांश चौधरीकै परिवारका निकट नातेदार रहेको पनि ती अधिकारीले जानकारी दिए।