आइतबार बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिल गाउँमा भुवा खेल चलिरहेको थियो। भुवा खेलको रमाइलोमा गाउँलेहरू मस्त थिए।
सुदूरपश्चिममा प्रसिद्ध धार्मिक महत्व बोकेको (भुवा) खेल हो। ४९ वर्षकी पुनी बोहरालाई भने रमाइलोसँगै चिन्ता पनि थियो। हजुरआमा बन्ने उत्साह पुनीमा थियो। गर्भवती बुहारीलाई कतै व्यथाले च्याप्यो कि? पुनीले बुहारी खिनालाई बेला–बेला सोधिरहन्थिन् ‘के छ अवस्था?’
जबाफमा २१ वर्षकी बुहारी खिना बोहरा (सविता) ले ‘कम्मर अलिअलि दुखेको छ, तर पानी बगेको छैन,’ भनिन्।
तीन दिनअघि खिनालाई झोता स्वास्थ्य चौकीमा पुर्याइयो। स्वास्थ्यकर्मीले पिसाब परीक्षण, भिडिओ एक्सरे गरेर भने 'सबै ठीक छ।'
माघ २६ गतेको समय दिइयो। त्यहाँकी एक स्वास्थ्यकर्मीलाई अब कस्तो बेलामा स्वास्थ्य चौकीमा आउने? भन्ने प्रश्नमा ‘पानी बगेपछि मात्रै स्वास्थ्य चौकी आउनुहोला,’ भन्ने जबाफ दिइन्।
पुनीले बुहारीलाई पानी बगेपछि अस्पताल लग्ने मनसाय बनाइन्। आइतबार बेला बेला उनी सोधीरहन्थिन् 'कतै पानी बग्यो कि?' बुहारीबाट 'नाइँ' भन्ने जबाफ पाएपछि पुनीले जटिल छैन भन्ने सोचिन् र स्वास्थ्य संस्था लग्न उनी हतारिनन्।
साँझ पर्यो। बुहारी खिनाको कम्मरको पीडा बढ्दै गयो। पुनीले पानी बगेपछि स्वास्थ्य चौकी लगौंला भन्ने सोचिन्।
उनको घरमा आँखा नदेख्ने श्रीमान, दुई छोरी र बुहारी र आफू थिए।
‘स्वास्थ्य चौकीमा मेडमले पानी बगेपछि ल्याउनुहोला भन्नुभयो? त्यही भएर साँझ सामान्य हो कि? सोचेर अस्पताल लगिएन,’ उनले भनिन्।
राति खिनालाई गाह्रो भयो। सोमबार बिहान तीन बजेतिर हतार–हतारमा स्वास्थ्य संस्था लग्न पुनीले तयारी गरिन्। पुनीले गाउँका महिलाहरू बोलाइन्। साथमा उनका आँखा नदेख्ने श्रीमान पनि थिए। सबै जना खिनालाई बोकेर स्वास्थ्य संस्थातर्फ लागे। सडकको बाटो भन्दा तल्लो बाटो छोटो हुने भन्दै उनीहरू हिँड्दै थिए। तर १५ मिनेट हिँडेपछि खिनाले अब हिँड्न नसक्ने कुरा सुनाइन्। भट्टे भन्ने ठाउँमा बाटोमै खिनाले शिशुलाई जन्म दिइन्। शिशु रोएको आवाजले केही समयको लागि अब जोखिम टर्यो भनेर सबैले सोचे। पुनीले आफ्नी छोरीलाई नावी काट्न सफा पानी र हसियाँ लिन वडा सदस्य पदमराज भट्टको घरमा पठाइन्। सबै हतारमा थिए। पदमले घटनाबारे थाहा पाए र रायल प्राथमिक केन्द्रका इन्चार्ज कमल कुमार मल्ललाई फोन गरे। त्यो समय थियो बिहान पाँच बजेर २५ मिनेट। तर फोन उठेन। करिब १५ मिनेटपछि कमलले पदमलाई फोन फर्काए।
‘यता एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्, तपाईंहरू एम्बुलेन्सहित आउनुहोस् भन्ने कुरा फोनमा गरेँ, त्यत्तिकैमा मेरो घरमा फेरि बच्चा जन्माएको ठाउँबाट मान्छे आएर आमा र शिशु बोलिरहेका छैनन् भन्न थाले, म दौडिँदै त्यहाँ गएँ,’ पदमले भने।
बेहोस् भएकी खिनाको अनुहारमा पानी छर्कियो। एकछिन खिना जुरूक्क उठिन्। मेरो कम्मर धेरै दुख्न थाल्यो भन्दै उनी सासूआमाको शरीरमा टाउको राख्दै बसिन्। सासूको काखमा पल्टिइन्। र बेहोस् भइन्। पदम एम्बुलेन्स कहाँ पुग्यो भन्दै खबर गरिरहेका थिए। पौने घण्टामा एम्बुलेन्स पुग्यो तर, सडकको निकै तलतिर मात्रै। एम्बुलेन्स आउँदा बिहानको उज्यालो भइसकेको थियो। खिना बेहोस थिइन्। सडकको तलबाट हिडेर स्वास्थ्यकर्मी खिना भएको ठाउँमा पुगेँ।
‘मैले त्यो अवस्थाको भिडिओ पनि बनाएँ, भोलि सबैलाई जनचेतना होला सम्बन्धित निकायलाई हाम्रो दु:खबारे थाहा होला भनेर मैले भिडिओ बनाएको हुँ,’ उनले भने।
एम्बुलेन्स चालक, दुई जना स्वास्थ्यकर्मी र हामीहरूले बेहास बनेका आमा र शिशुलाई बोकेर एम्बुलेन्स भएको ठाउँमा पुर्यायौं। एम्बुलेन्सबाट देउरा स्वास्थ्य चौकीमा पुर्याइयो। त्यहाँबाट उनी र शिशुको प्राण गइसकेको खबर आयो।
विवाहपछि ८ दिनमै खिनाका श्रीमान उमेश गत वैशाख भारत गए। घरमा खान समस्या भएपछि श्रीमानले भारत जानुपरेको थियो। खिना गर्भवती हुँदा पनि सासू पुनी नै उनको सहारा बनिन्। सासूले आफ्नो खेतीपाती किसानीको काम गर्दै बुहारीको स्याहार गरिन्।
‘बुहारी र नाति बाटोमा गुमाउनु पुगेँ, मेरो भाग्य हो कि? सरकार हो दोषी?,’ आँसु पुछ्दै पुनीले भनिन्।
‘यसरी आमा र शिशुको बाटोमै मृत्यु हुनु पुनी बोहराकी बुहारी गुम्नु मात्रै हो कि? यसले यहाँबाट राजनीति गर्ने नेताप्रति पनि प्रश्न उठेको हो? पदमराज भट्टले प्रश्न गरे।
आँखा अगाडि शिशु र आमाले प्राण त्याग्दा आफूलाई धिक्कार लागेको वडा सदस्य भट्टको भनाइ छ।
‘प्रयास गर्दा पनि हामीले उहाँलाई बचाउन सकेनौं, त्यही कारण धिक्कार लागिरहेको छ आफै देखेर, एक त समयमै खबर भएन, खबर भयो तर ढिला त्यही माथि सडकको अवस्था दयनीय छ, अटोमा लग्न दश हजार भाडा दिन्छौं भन्दा पनि नाइँ भने अटोवालाले, त्यही भएर बचाउन सकिएन,’ भट्टले भने।
भौगोलिक बनावट, स्वास्थ्य संस्था नजिक नहुनु, सडक नहुनु लगायतका कारण यस्तो घटना घटेको उनले बताए।
उनका अनुसार झोता स्वास्थ्य चौकी पुग्न एक घण्टा समय लाग्छ। गाडी, मोटर, पाइने ठाउँसम्म पुग्न पनि समय लाग्छ ११ किलोमिटर टाढा छ।
‘मैले पालिकामा, वडा कार्यालयमा यो ठाउँमा धेरै समस्या छ। स्वास्थ्य चौकी, बर्थिङ सेन्टर बनाउनु होस् भनेर पटक पटक आवाज उठाएँ, हामीले एउटा सिटामोल ल्याउन चारदेखि पाँच सय गाडी भाडा खर्च गरेर स्वास्थ्य संस्थासम्म जानुपर्ने अवस्था छ,’ उनले भने।
उनका अनुसार गाउँका युवा भारतमा छन्। गर्भवती र सुत्केरीको समयमा त्यहाँका महिलाले श्रीमानको साथ पाउन सकिरहेका छैनन्।
‘खिनाका श्रीमान पनि परिस्थितिले भारतमै छन्, गाउँमा रोजगार छैन। म आफै पनि २२ वर्ष भारतमा चौकीदारी गरेको हुँ,’ उनले भने।
त्यहाँका खेतीपाती बाँदर, थार जस्ता जनावरले सखाप पार्ने गरेको उनले बताए।
‘यहाँको प्रमुख समस्या स्वास्थ्य, सडकका बारेमा यही ठाउँबाट चुनाव जितेर गएका प्रदेशमा सभामुख भीम भण्डारी र केन्द्रमा प्रतिनिधि सभा सदस्य मन्त्री भइसकेका भानुभक्त जैशीलाई भेटेर पनि उहाँहरूलाई केही गरिदिनु भनेर स्वास्थ्यका लागि हाम्रो कुरा राखेको हो नाइँ भन्ने कुरा कसैले पनि भनेको छैन। तर, अहिलेसम्म केही भएको छैन, हाम्रो हातमा त केही हुँदैन, गाउँलेलाई सम्झाउने, बुझाउने काममा भने सहयोग गरिन्छ,’ उनले भने, ‘जनचेतनामा कमी छ, यस्तो समस्या रहेको यो विकट ठाउँलाई सुगम ठाउँ भनेर जिल्ला र प्रदेशबाट घोषणा गर्ने तयारी भइरहेको कुरा पनि सुनेका छौं। यस्तो कुरा सुन्दा लज्जास्पद कुरा लाग्छ।’