नेपाल र तिब्बतको सीमावर्ति क्षेत्रमा मंगलबार बिहान गएको भुइँचालो तिब्बतको भूसतहमुनि चलिरहेको 'ड्रामा' को परिणाम हुनसक्छ।
भूगर्भ वैज्ञानिकहरूको नयाँ अनुसन्धानअनुसार तिब्बतको भूसतहमुनि इन्डियन प्लेट दोब्रिँदै, चोइटिँदै र धस्सिँदै गएको छ। यसले कालान्तरमा तिब्बतको पठार क्षेत्र दुई चिरामा विभाजित हुन सक्ने आकलन गरिएको छ।
नेपाल लगायत हिमाली क्षेत्रको भुइँचालो अध्ययनमा तरंग ल्याएको यो अनुसन्धान अहिले बहसमै छ।
मंगलबार बिहान तिब्बतको सिगात्से प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको ७.१ म्याग्निच्युडको भुइँचालो पनि इन्डियन प्लेट चोइटिनुकै संकेत त होइन?
कतै यसले तिब्बतको पठार क्षेत्र दुई चिरामा विभाजित हुँदैछ भनेर अलार्म त दिँदै छैन?
सिगात्से प्रान्तमा पर्ने टिंग्रीबाट सुरू भुइँचालो धक्का काठमाडौंसहित पूर्वी नेपाल, भुटान र भारतको उत्तरपूर्वी भागमा समेत महसुस गरिएको थियो।
भुइँचालोबाट तिब्बतमा ९५ जनाभन्दा बढीको ज्यान गएको पुष्टि भइसकेको छ। करिब डेढ सय जना घाइते छन्। नेपालमा भने मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन।
नेपालजस्तै तिब्बत पनि भुइँचालोको अत्यन्तै जोखिम रहेको ठाउँ हो। त्यहाँ पनि भुइँचालो जानुको मुख्य कारण इन्डियन र युरेसियन प्लेटको घर्षण नै हो।
यसबाहेक तिब्बतको भूसतहमुनि केही फरक ढंगका नाटकीय गतिविधि भइरहेको वैज्ञानिक अनुसन्धानबाट देखिएको छ। यसले तिब्बत मात्र होइन, नेपाल र समस्त हिमाली भेगको भुइँचालो जोखिम थप बढाएको छ।
तिब्बतको भूसतहमुनि भइरहेको 'ड्रामा' के हो त?
त्यो ड्रामा कसरी पत्ता लाग्यो? त्यसको नेपाल कनेक्सन के हुनसक्छ?
यो स्टोरीमा म यिनै प्रश्नबारे चर्चा गर्दैछु।
आजभन्दा ठ्याक्कै एक वर्षअघि सन् २०२३ डिसेम्बरको कुरा हो। अमेरिकन जियो-फिजिकल युनियनको वार्षिक सम्मेलनमा हिमाली क्षेत्रको भुइँचालोबारे एउटा अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका जियो-फिजिसिस्ट सिमोन क्लेमपेरर नेतृत्वको टोलीले तयार पारेको उक्त अनुसन्धानपत्रले हिमाली भेगको एउटा मुख्य खण्ड तिब्बती भूभागमुनि भइरहेको भौगर्भिक हलचलबारे नयाँ अवधारणा सार्वजनिक गरेको छ।
यो हलचल वैज्ञानिकहरूले सोचेभन्दा फरक र जटिल छ।
पृथ्वीको भू-सतहभन्दा निकै तल ठुल्ठूला चट्टानका खण्ड छन्। तिनै चट्टान आपसमा जुध्दा भुइँचालो, ज्वालामुखी, सुनामीजस्ता भौगर्भिक विपत्ति आउँछन्। हामी नेपालको जुन सतहमा उभिएका छौं, त्योभन्दा तल दुई ठूला चट्टान करोडौं वर्षदेखि आपसमा जुधिरहेका छन्। ती चट्टानी खण्डलाई इन्डियन र युरेसियन प्लेट भनिन्छ।
यिनै दुइटा प्लेट वा चट्टानको घर्षणले हिमाली शृंखला र पहाड-पर्वत बनेका हुन्। त्यही घर्षणको प्रभावले भुइँचालोको धक्का झेल्न हामी बाध्य छौं।
अहिलेसम्म स्थापित वैज्ञानिक अवधारणाअनुसार इन्डियन र युरेसियन प्लेटको घर्षण जारी छ। इन्डियन प्लेट वार्षिक चार सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदैछ। यसरी घुस्रिँदै जाने क्रममा इन्डियन प्लेटले युरेसियन प्लेटलाई तलबाट धक्का दिइरहेको छ, जसले युरेसियन प्लेट निरन्तर माथि उठिरहेको छ। सगरमाथा लगायत हिमाली शृंखलाहरूको उचाइ बढ्दै जानुको कारण यही हो।
यो सँगसँगै तिब्बतको भूसतहमुनि केही फरक भौगर्भिक गतिविधि पनि भइरहेको जियो-फिजिसिस्ट सिमोन क्लेमपेरर र उनका सहकर्मीहरूको अनुसन्धानले देखाएको छ।
सिमोनका अनुसार इन्डियन प्लेट ठाउँ-ठाउँमा दोब्रिएर चिरा परेको छ। यसरी चिरा पर्दा तल्लो भाग गह्रुंगो भएर झन् झन् तल धस्सिँदै छ भने माथिल्लो भाग युरेसियन प्लेटसँग टाँसिएर अगाडि बढ्दै छ।
'केही वर्षयता तिब्बतको भूसतहमुनि धेरै ठाउँमा इन्डियन प्लेट यसरी नै चिरा परेको पाइएको छ,' जियो-फिजिसिस्ट सिमोनलाई उद्धृत गर्दै विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय पत्रिका 'साइन्स' लेख्छ, 'दोब्रिनु, चिरा पर्नु र तल धस्सिँदै जानु इन्डियन प्लेटको निरन्तर प्रक्रियाझैं देखिन्छ।'
खासगरी भारतको उत्तरपूर्वी सतहमुनि इन्डियन प्लेट चिरा पर्ने र धस्सिने क्रम एकदमै बढी पाइएको उनले बताएका छन्।
वैज्ञानिकहरूले इन्डियन प्लेट कसरी चिरा पर्यो भन्ने बुझाउन टिनको बट्टाको उदाहरण दिएका छन्। जसरी टिनको बट्टालाई बल लगाएर थिच्दा कतै कुच्चिने, कतै दोब्रिने र कतै चोइटिने हुन्छ, यस्तै परिवर्तन इन्डियन प्लेटमा देखिएको उनीहरूको भनाइ छ।
तिब्बती भूसतहमुनि भइरहेको हलचल पत्ता लगाउन सिमोन लगायतका भूगर्भ वैज्ञानिकले युरेसियन र इन्डियन प्लेटको ठक्करबाट निस्कने भूकम्पीय तरंग मापन गरेका थिए।
ती तरंगका आधारमा इन्डियन प्लेटको कुन हिस्सा कति गहिराइमा छ भनेर उनीहरूले थ्री-डी तस्बिर निकालेका छन्।
तिब्बतका केही ठाउँमा इन्डियन प्लेट जमिनको सतहबाट २०० किलोमिटर गहिराइमा भेटिएको छ भने केही ठाउँमा जम्मा १०० किलोमिटर गहिराइमै भेटिन्छ। यसले इन्डियन प्लेट चोइटिएर दुई टुक्रा भएको र एउटा टुक्रा निकै तल धसिँदै गएको पुष्टि हुने वैज्ञानिकहरू बताउँछन्।
'अर्बौं वर्षको इतिहास बोकेको पृथ्वीको भौगर्भिक हलचलबारे अध्ययन गर्नु निकै जटिल काम हो,' भूगर्भ वैज्ञानिक सिमोन क्लेमपेरर भन्छन, 'हाम्रो पछिल्लो अनुसन्धानबाट तिब्बतको भूगर्भमा जुन नाटकीय हलचल देखिएको छ, त्यसले हिमाली भेगको भुइँचालोलाई नयाँ ढंगले हेर्न मद्दत पुग्नेछ।'
इन्डियन प्लेट चोइटिने क्रमले तिब्बती क्षेत्रको भुइँचालो जोखिम थप बढाएको उनको भनाइ छ।
हामीले यसबारे राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीसँग पनि कुरा गर्यौं। उनले इन्डियन प्लेट चिरा पर्ने क्रम लामो समयदेखि चल्दै आएको बताए।
अधिकारीका अनुसार इन्डियन प्लेटको माथिल्लो हिस्सा कम घनत्वको छ भने तल्लो हिस्साको घनत्व बढी छ। करोडौं वर्षदेखिको घर्षणले बढी घनत्व भएको तल्लो हिस्सा कतै दोब्रिएको छ भने कतै भाँच्चिएको छ। भाँच्चिएको खण्ड अझ तल धस्सिँदै गएको उनी बताउँछन्।
'यस किसिमको भौगर्भिक गतिविधिले पनि हिमाली भेगमा भुइँचालोको जोखिम थप बढाएको छ,' उनले भने।
यसअघि विज्ञानसम्बन्धी अमेरिकी जर्नल 'पिएनएएस' मा सन् २०२२ मा प्रकाशित अनुसन्धानपत्रले पनि यस्तै नतिजा सार्वजनिक गरेको थियो।
त्यति बेला सिमोन क्लेमपेरर र उनको अनुसन्धान टोलीले दक्षिणी तिब्बतको हजार किलोमिटर क्षेत्रमा रहेका करिब दुई सयवटा प्राकृतिक जलाशयबाट नमूना संकलन गरेका थिए। त्यस क्रममा दक्षिणी तिब्बतका केही प्राकृतिक जलाशयमा हेलियम-३ ग्यासको अंश पाइएको अनुसन्धानपत्रमा उल्लेख छ। यो पृथ्वीको निकै भित्री गहिराइमा पाइने ग्यास हो।
पृथ्वीको उत्पत्तिदेखि नै भित्री गर्भमा थुनिएर रहेको हेलियम-३ को अंश तिब्बतको सतहमा भेटिनुले इन्डियन प्लेट चोइटिएर निकै तलसम्म धस्सिएको अवधारणा पुष्टि हुने सिमोन बताउँछन्।
इन्डियन प्लेट दोब्रिने, चोइटिने र धस्सिने क्रमले भविष्यमा कति जटिल रूप लिनसक्छ भन्नेमा वैज्ञानिकहरू प्रस्ट छैनन्। अनुसन्धानकै क्रममा रहेको यो अवधारणालाई हिमाली भुइँचालोबारे रूचि राख्ने वैज्ञानिकहरूले चासोपूर्वक हेरिरहेका छन्।
नेपाल र तिब्बत एउटै भूखण्डमा पर्छन्। जसरी युरेसियन र इन्डियन प्लेटको घर्षणबाट उत्पन्न हुने तरंगले यी दुवै ठाउँमा भुइँचालो ल्याउँदै आएको छ, त्यसरी नै इन्डियन प्लेट दोब्रिने, चोइटिने र धस्सिने क्रमले पनि दुवै क्षेत्रलाई बराबर असर गर्छ। मंगलबार बिहान तिब्बतको सिगात्से प्रान्तमा गएको भुइँचालो कम्पन काठमाडौंसम्म महसुस हुनु यसैको उदाहरण हो।
त्यसैले तिब्बतको भूसतहमुनि चलिरहेको भौगर्भिक 'ड्रामा' भूकम्पीय जोखिमका हिसाबले नेपालको निम्ति पनि उत्तिकै चासोको विषय हो।
***