सर्वोच्च अदालतबाट बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गासम्बन्धी परेको रिट फिर्ता भएको छ।
च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीका सञ्चालक समिति अध्यक्षले हालेको रिट मंगलबार सर्वोच्च अदालतले उनको मागबमोजिम नै फिर्ता गरेको हो।
न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासबाट उक्त रिट फिर्ता भएको हो।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्नका लागि मालपोत कार्यालय डिल्लीबजारले निर्णय गरेको थियो। उक्त निर्णय गर्दै २०८० माघ २५ गते प्रालिको नाममा पत्र काटेको थियो।
मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो।
टोखा नगरपालिका वडा नम्बर ६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटेको थियो। उक्त पत्रको विरूद्धमा सञ्जयले रिट दायर गरेका थिए। उनले नै दायर गरेको रिट फिर्ता गर्न माग गरेपछि सर्वोच्चले फिर्ता गरेको हो।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई २०८० माघ १८ गते पक्राउ गरेको थियो। सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो।
२०८० चैत ९ गते मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको नाममा कायम गरेको थियो।