नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्च अदालतले अडिओ/भिडिओ झिकाउन आदेश दिएको छ।
मंगलबार न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अध्यक्ष घिमिरेले दिएको अभिव्यक्तिको अडिओ/भिडिओ माग गरेको हो।
‘असोज ११ गते काठमाडौं जिल्ला अदालत बार इकाईले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जबाफको प्रकरण ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यक्रमको श्रव्य दृश्यको छायाङ्कन/अभिलेख आयोजक बार इकाईबाट झिकाई प्रत्यर्थीलाई देखाई सुनाई सोको सनाखत गराई मिसिल सामेल गरी नियमानुसार पेस गर्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ।
नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए।
बार अध्यक्षले गरेको टिप्पणीमा न्याय परिषदले पनि खेद प्रकट गरेको थियो।
नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको थियो।
उक्त नियमावली नसच्याई कुनै पनि अदालतमा न्यायाधीश नियुक्ति गर्न नपाइने बारको माग थियो। बारको विरोधकै बीचमा असोज ११ गते सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले त्यसमाथि प्रश्न उठाएका थिए।
नियमावलीको उक्त व्यवस्था गैरसंवैधानिक भएको भन्दै उनले प्रधानन्यायाधीशलाई पनि गैरसंवैधानिक काम गरेको आरोप लगाएर विभिन्न सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका थिए।