पश्चिम नवलपरासीको बर्दघाटमा नेपालका लागि दुर्लभ मानिने ‘अलिभ किलब्याक’ सर्प फेला परेको छ। सर्प उद्धारकर्मी दुर्गा लामिछाने र फोटोग्राफर राज अधिकारीले उक्त सर्पको तस्बिर खिचेका हुन्।
लामिछानेका अनुसार दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भारत र नेपालमा मात्र पाइने यो प्रजाति नेपालमा अत्यन्तै कम देखिने सर्पहरूमध्ये पर्दछ। ‘अलिभ किलब्याक’ सर्प कोलुब्रिडे परिवारमा पर्ने सर्प हो।
यसले मानवीय जीवनमा प्रत्यक्ष खतराको कुनै संकेत दिँदैन। यसको शरीरमा हरियो र खैरो रङको मिश्रण देखिन्छ, जसले यसलाई प्राकृतिक परिवेशमा लुकेको जस्तो देखिन मद्धत गर्छ।
भारतको तमिलनाडु र आन्ध्र प्रदेशजस्ता क्षेत्रमा सामान्यतया पाइने यो सर्प नेपालमा भने निकै दुर्लभ मानिन्छ। बर्दघाटमा यस प्रजातिको सर्प देखिनु जैविक विविधताको दृष्टिले ठूलो महत्व राख्ने लामिछानेले बताए।
‘हामीले यसलाई देख्न र क्यामरामा कैद गर्न पाउनु निकै दुर्लभ अवसर हो,’ उनले भने।
सर्पबारे अध्ययन अनुसन्धान गर्दै आएका सुनिल सापकोटाले विज्ञहरूले यस प्रजातिको सर्प नेपालमा रहेको भन्दै आए पनि फोटो खिच्न सकिएको घटना भने सम्भवतः पहिलो पटक भएको दाबी गरे।
‘सर्पको अध्ययन अनुसन्धान गर्दै आउनुभएका विज्ञहरूले नेपालमा यो प्रजातिको सर्प हुने गरेको बताए पनि यसरी तस्बिर खिच्न सकिएको भने पहिलो पटक नै होला,’ उनले भने।
उनले दुर्लभ मानिएको सर्प फेला परेपछि त्यसबारे अध्ययन र अनुसन्धान गर्नलाई सहज बनेको बताए।
‘अलिभ किलब्याक’ सर्पलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइयुसिएनले आफ्नो रातो सूचीमा ‘कम चासोका प्रजाति’ का रूपमा वर्गीकृत गरेको छ। यसलाई ठूलो खतरा नरहेको मानिए पनि स्थानीय स्तरमा यसको संख्या कति छ भन्नेबारे कुनै स्पष्ट तथ्यांक भने छैन।
बर्दघाट क्षेत्रमा जैविक विविधताको महत्व झल्काउने यो घटना क्षेत्रको संरक्षण र अध्ययनमा नयाँ सम्भावना ल्याउन सक्छ। यो क्षेत्र विभिन्न दुर्लभ प्रजातिका जीवजन्तुको बासस्थानका रूपमा परिचित हुँदै आएको छ।