राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तिब्बतमा भूकम्पले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
मंगलबार बिहान नेपालको सीमाना नजिकै तिब्बत केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्नेच्युटको भूकम्पले तिब्बतमा ९५ जनाको मृत्यु भएको थियो। १३० जना भन्दा बढी घाइते रहेको र हजार बढी भवनहरू भत्किएको छ।
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्पमा मानवीयलगायत क्षति भएकोमा दु:ख व्यक्त गरेका हुन्।
‘चीनको तिब्बतमा भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिले म अत्यन्तै दु:खी छु। मृतकप्रति श्रद्धाञ्जली र मृतक परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। चीन सरकार र चिनियाँ नागरिकको साथमा नेपाल छ,’ राष्ट्रपति पौडेलले लेखेका छन्।
त्यस्तै प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति सी चिनफिङ समक्ष समवेदना प्रकट गरेका छन्।
‘चीनमा आएको विनाशकारी भूकम्पले मलाई दु:खी बनाएको छ। राष्ट्रपति सी चिनफिङ, चिनियाँ जनता र शोक सन्तप्त परिवारहरूमा समवेदना व्यक्त गर्दछु। यस कठिन घडीमा नेपाल हाम्रा छिमेकीहरूको साथमा उभिएको छ,’ उनले भनेका छन्।
यो भूकम्पले नेपालमा पनि केही घरहरूमा क्षति पुर्याएको छ भने केही मानिसहरू घाइते भएका छन्। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।