हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौंमा सुरू भएको छ।
नेपाल र नेपालजस्ता विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआई फर अल नेटवर्कले (हाइनेट) कन्फ्रेन्सको आयोजना गरेको हो।
हाइनेट नेटवर्कको सञ्चालक समितिमा तीन चौथाइ सदस्यहरू विकासशील र विकासउन्मुख देशका रहने गर्छन्। सोही अनुरूप हाइनेटले विकासशील देशहरूले स्वास्थ्य सेवाको समस्या पहिचान गरी त्यसलाई स्वास्थ्य एआईको माध्यमबाट समाधान गर्ने उद्देश्य लिएर विस्तृत छलफल गर्न कन्फ्रेन्स आयोजना गरेको हो।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सिमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरूमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतिर हाइनेट सुरू गरेको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डेले बताए।
उनका अनुसार स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुराउन स्वास्थ्य एआईले कसरी भूमिका खेल्छ भन्ने विषयमा कन्फ्रेन्समा छलफल हुनेछ। त्यसैगरी नेपालजस्ता विकासशील देशहरूले सहकार्य गरेर स्वास्थ्यमा भएका आफ्ना समस्या पहिचान र स्वास्थ्य एआई विकास गर्न स्वामित्व लिन सहकार्य गर्ने विषय पनि कन्फ्रेन्स केन्द्रित रहनेछ।
हाइनेटका संस्थापक सदस्य डा. विशेष खनाल विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिको उपभोक्ता मात्र नभई उत्पादक पनि हुने सम्भावनाको प्रवर्द्धन गर्न यो नेटवर्कले काम गर्ने बताए।
नेटवर्कका सदस्य तथा युनिभर्सिटी अफ एभर्डिनका सहप्राध्यापक विनोद भट्टराई पछिल्लो समय विकसित देशहरूमा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग व्यापक भइरहेको बताए।
यद्यपि, नेपाल र नेपालजस्ता स्वास्थ्य सेवाको सिमित स्रोत भएका स्थानमा रहेका बिरामीलाई एआई प्रविधिको लाभ नपाउने जोखिम पनि उस्तै रहेको उनको भनाइ छ।
उनका अनुसार हाइनेटले नेपालजस्ता विकासशील देशले आफ्नो स्वास्थ्य समस्याहरूको प्राथमिकता निर्धारण गरेर त्यसलाई समाधान गर्न स्वास्थ्य एआईको विकास गर्न स्वामित्व लिनका लागि यो कन्फ्रेन्सको महत्वपूर्ण भूमिका हुन्छ।
कन्फ्रेन्समा स्वास्थ्य एआइको बारेमा छलफल र विज्ञहर"ले कार्यपत्र प्रस्तुत गर्नेछन्। कन्फ्रेन्समा स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजानिक पुँजीका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर पहिलो शत्र सञ्चालन हुनेछ।
त्यसैगरी, स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो रहेको छ र नेपाल जस्ता देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा दोस्रो शत्र आयोजना हुनेछ।
तेस्रो शत्रमा भने स्वास्थ्य एआईको प्रयोग र फाइदाबाट कोही पनि व्याक्ति वञ्चित नहुनको लागि के गर्न सकिन्छ भन्ने विषयमा खुला छलफल हुनेछ।
सम्मेलनमा विभिन्न देशका विज्ञहरूले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संग्लग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसको सम्भावना, चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स २ दिनसम्म चल्नेछ। कन्फ्रेन्समा एसिया, अफ्रिका उत्तर तथा दक्षिण अमेरिकाबाट विज्ञ तथा वक्ताहरु सहभागी रहेका छन्।