दाङबाट सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सबैको उपचार अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ।
कोषमा आबद्ध बिरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुनेछ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार अब प्रतिष्ठानमा हुने गरी सम्झौता भएको बताए।
सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि अपरेसनसम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुनेछ।
सोमबार काठमाडौंमा प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार प्रतिष्ठानबाट प्राप्त गर्ने गरी सम्झौता भएको हो।
दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा पाँच हजार बढी ब्यक्ति आबद्ध छन्।
कोषमा आबद्ध व्यक्तिहरूको उपचार गर्ने गरी सम्झौता भएको देशैभरको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै हो।
कोषमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरू, विभिन्न बैंक तथा कम्पनीका सुरक्षा गार्ड कम्पनीमा आबद्ध सुरक्षा गार्डहरू, कर्मचारीहरू आबद्ध छन्। यसअघि घोराहीको मितेरी हस्पिटलबाट उपचार हुँदै आएकोमा अब विशेषज्ञ सेवासहितको सेवा प्रतिष्ठानबाट कोषमा आबद्ध भएका व्यक्तिहरूले पाउने छन्।