स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान लिइने भएको छ।
सोमबार न्यायाधीश पदमराज पाण्डेयको इजलासमा प्रतिवादीहरूको बयान लिइने भएको हो।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा दुई जना प्रतिवादीमात्रै छन्। निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक समिति सदस्य कमल सुवेदी काठमाडौंको हिरासतमा छन्।
सरकारी वकिलले आइतबार जिल्ला अदालत काठमाडौंमा ३९ जनाविरूद्ध मुद्दा दायर गरेका थिए।
अन्य तीन जना गोर्खा मिडियाका पूर्व संचालकद्वय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेल कास्कीमा छन्।
रम्तेल कास्की कारागारमै छन् भने लामिछाने र जोशी कास्की प्रहरीको हिरासतमा छन्।
कास्की जिल्ला अदालतमा पनि सूर्यदर्शन बचत तथा ऋण सहकारीको पुर्पक्षका लागि थुनामा राख्ने/नराख्ने विषयमा थुनछेक बहस हुँदैछ। यता काठमाडौंमा पनि सोमबार नेवा र सुवेदीको बयान लिन सकेपछि थुनछेक सुरू हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।
‘जिल्ला अदालतले दुई जनाको बयान आजै लिनेछ। बयान सकिएपछि थुनछेक बहसतर्फ जान्छ,’ उनले भने, ‘अन्य प्रतिवादीहरू तीन जना कास्कीमा छन्। उनीहरूको त्यहाँको थुनछेक आदेश सकिएपछि काठमाडौं ल्याएर पुन: थुनछेक हुन्छ।’
३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ ठगीमा मागदाबीसहित मुद्दा दायर भएको थियो।