काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) का नेता दिपेश पुनमाथि थप अनुसन्धान र उनकी श्रीमती सविना आले मगरविरूद्ध मुद्दा दर्ता भएको छ।
आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको मुद्दामा सविनासहित ३९ जनालाई प्रतिवादी बनाइएको छ।
तर दिपेश भने प्रतिवादी छैनन्। सविना स्वर्णलक्ष्मीकी निवर्तमान कोषाध्यक्षसमेत हुन्।
उनीविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगीमा मागदाबीसहित मुद्दा दायर भएको हो।
‘कानुनविपरीत कर्जा प्रवाह गरी आर्थिक उपार्जन गर्ने उद्देश्यले लामो समयदेखि निरन्तर रूपमा सहकारीको रकम दुरूपयोग गरी कानुनविपरीत ऋण कर्जा लिनुदिनु गरी बेइमानीको नियतले उक्त सहकारीका सञ्चालकहरू तथा ऋण लिने कम्पनीका सञ्चालकहरू समेत मिली आफूलाई फाइदा र सहकारीलाई नोक्सान पुर्याउने, बचतकर्ताहरूको निक्षेप रकम लिने खाने उद्देश्यले संगठित रूपमा ठगी गरेको,’ उनीसहित सञ्चालक समितिमा रहेका प्रतिवादीहरूबारे अभियोग पत्रमा उल्लेख छ।
दिपेश पुनबारे भने सरकारी वकिलले थप खुलाउन भनेको छ। उनीसँगै सहकारीबाट ऋण लिएर शम्भु गुरागाई, ओमप्रकाश गुरूङ, लक्ष्मीप्रसाद पौडेल, उमेश गुरूङ, भिमबहादुर तामाङ, पुष्पा राई समेतले नतिरेको उल्लेख छ। तर उनीहरू प्रतिवादी छैनन्।
यद्यपि सरकारी वकिलले उनीहरू र मुद्दामा अन्य कोही कसैको संलग्नता रहेको खुलेपछि संगठित अपराध र थप दाबी लिन सकिने उल्लेख गरेको छ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार पुनमाथि अर्को चरणको अनुसन्धान गर्न भनिएको हो। ‘पुनसहित अन्यमाथि अर्को चरणमा अनुसन्धान गर्नका लागि प्रतिवादी नबनाइको हो,’ स्रोतले भन्यो।
सरकारी वकिलले अन्य पीडितहरू समेत हुन सक्ने भन्दै जाहेरी लिएर आएमा थप कारबाही गर्न सकिने पनि उल्लेख गरेको छ।
प्रहरीले यस घटनामा ४४ जनालाई मुद्दा चलाउन राय दिएको थियो। तर सरकारी वकिलले केहीको तीन पुस्तेसहितको यकिन विवरण खुलाउन भनेको छ।
यामकुमार नाल्बो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे, मिरा बम्जन, संजिव गिरी र प्रचण्डमान प्राधनको तीन पुस्तेसहितको विवरण खुलाउन भनिएको हो।