काठमाडौं महानगरपालिका वडा नम्बर ३२ सिनामंगलस्थित पेप्सीकोलाको मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाका तीन जना बचतकर्ताले सहकारीले लामो समयदेखि बचत फिर्ता नगरेको गुनासो गरेका छन्।
विनोद पराजुली, जानुका पराजुली र बिनु पराजुलीका नाममा रहेको करिब ३२ लाख रुपैयाँ बचत सहकारीले फिर्ता नगरेको बचतकर्ताहरूको भनाइ छ।
सहकारीबाट बचत फिर्ता गर्न आफूहरूले लामो समयदेखि आग्रह गरे पनि सहकारीले अटेरी गरेको उनीहरूको भनाइ छ।
बचत फिर्ताको सट्टा अध्यक्ष अनसन साखको निर्देशनमा आफूहरूको खाता नै रोक्का भएको बचतकर्ताहरूले बताएका छन्।
‘पछिल्लो पटक काठमाडौं महानगरपालिकाको सहकारी विभागमा भएको छलफलमा पनि अध्यक्षले तुरून्तै बचत फिर्ता गर्छु भन्नु भएको थियो तर अहिलेसम्म बचत फिर्ता भएन,’ बचतकर्ता विनोदको भनाइ छ।
पटक-पटकको आग्रह र छलफलमा पनि बचत फिर्ता नभएपछि आफू कानुनीलगायत प्रक्रियामा अघि बढ्नुपरेको उनले बताए।
यसबारे सहकारीसँग बुझ्दा बचतकर्ताहरूको खाता रोक्का गरेको जानकारी आएको छ।
‘विनोद पराजुली मल्टिस्टार सहकारीको पूर्वअध्यक्ष पनि हुनुहुन्छ, उहाँ र उहाँका परिवारका सदस्यहरूको खाता हामीले रोक्का गरेका छौं,’ सहकारीकी एक कर्मचारीले सोमबार बिहान सेतोपाटीसँग भनिन्, ‘यसबारे काठमाडौं जिल्ला अदालतमा मुद्दा पनि छ। अदालतको आदेश जे आउँछ, त्यसअनुसार थप प्रक्रिया अघि बढ्छ।’
पूर्वअध्यक्ष पराजुलीका ऋणलगागत बाँकी रहेको देखिएकोले बचत फिर्ता हुन नसकेको र खाता रोक्का पनि राखिएको भन्दै उनले अदालतको आदेशपछि सोहीअनुसार सहकारी अघि बढ्ने जानकारी दिइन्।