राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना चेक काट्न सम्भव नभएको बताएका छन्।
लामिछानेलगायत ३९ जनामाथि काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
रविना रिमाल जिबी ग्रुप अफ कम्पनिजकी कर्मचारी एवं लेखापाल हुन्। बयानमा उनलाई लामिछानेले जिबी राईका विश्वास पात्र भनेका छन्।
गोर्खा मिडिया नेटवर्कमा कुनै भुक्तानी दिनुपर्ने भएमा रिमालको अनुमति चाहिने बताएका हुन्।
‘भुक्तानी दिने रकमको विवरण यसका लगानीकर्ता जिबी राई संसारको जुन कुनामा भए पनि जिबी ग्रुप अफ कम्पनिजका कर्मचारी एवं राईको विश्वास पात्र रविना रिमालको समन्वय र अनुमति विना सम्भव थिएन,’ लामिछानेले बयानमा भनेका छन्, ‘सम्पूर्ण वित्तीय कारोबार लगानीकर्ता राई स्वयमले आफ्नो पूर्ण नियन्त्रण र निगरानीमा राखी आफ्नो विश्वास पात्रबाट यकिन गरे पश्चातमात्र चेकहरू जारी हुने हुनाले मेरो भूमिका केवल सहजताका लागि हस्ताक्षरकर्ताको रूपमा मात्रै थियो।’
लामिछानेले आफू कम्पनीका चेकमा हस्ताक्षरकर्ता मात्रै भएको र लगानीकर्ता वा वित्तीय जिम्मेवारी आफ्नो नभएको दाबी गरेका छन्।
‘यस कम्पनीमा मैले एक पैसा पनि लगानी गरेको होइन। करिव ७ महिनाको अवधिमा त्यस्तो विश्व गुणस्तरीय टेलिभिजन खोल्न मैले दिनरात मिहिनेत गरेँ,’ उनले भनेका छन्, ‘कुनै पनि कारणले कुनै भेण्डर, कम्पनी आदीको भुक्तानी गर्नु पर्ने चेकमा हस्ताक्षर गर्ने आधिकारिक मानिस कै अभावमा काम रोकिन्थ्यो भने त्यति छिटो उक्त कम्पनी खडा भई प्रसारणमा जान सक्दैन्थ्यो।’
लामिछानेले गोर्खा मिडियामा कुनै पनि सहकारीसँग ऋण लिने वा रकम ल्याउने कुनै पनि किसिमको सम्झौता, सहमति, प्रस्ताव र त्यसको बोर्ड निर्णय नगरेको पनि उनले बताएका छन्। राईले उपलब्ध गराएको ऋण नै मिडियाले लिएको ऋण भएको उल्लेख गरेका छन्।
उनले कहाँबाट कसरी ऋण लिएको भन्नेबारे आफूलाई जानकारी नरहेको बताए।
रवि लामिछाने २०७८ असोज २३ गते लामिछानेले मिडियाको १६ प्रतिशत सेयर खरिद गरी कम्पनीको को प्रबन्ध निर्देशक र सञ्चालक भएर काम गरेका थिए।
उक्त कम्पनीमा काम गर्दा ग्लोबल आइएमई बैंकको खातामा रवि लामिछाने, छविलाल जोशी र जिबी राईमध्ये कुनै एक जनाको हस्ताक्षर र कार्यालय छापबाट सञ्चालक हुने गरी खाता खोलेको देखिएको हो।
नविल बैंकको अर्को खातामा रवि र जिबी दुवैको अनिवार्य हुताक्षर र कार्यालय छापबाट सञ्चालन हुने गरेको अभियोग पत्रमा उल्लेख छ।
रविकै हस्ताक्षर प्रयोग गरी ग्लोबल बैंकमा चेक मार्फत स्वर्णलक्ष्मीका लागि १६ वटा चेक काटिएका छन्। ९० लाख १६ हजार ६६० रुपैयाँ चेक स्वर्णलक्ष्मीमा भुक्तानी दिएको देखिएको हो।
सरकारी वकिलले रवि, जिबीसहित ३९ जनाविरूद्ध आइतबार मुद्दा दायर गरेको हो। रवि-जिबीविरूद्ध मिडिया सञ्चालकको रूपमा संयुक्त रूपमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गरेको छ।
स्वर्णलक्ष्मीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको हो।
यो पनि: काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता