काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सरकारी वकिल जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो।
प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो।
त्यस्तै ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न पनि राय दिएको हो। सरकारी वकिल कटुवालले भने नाम/ठेगाना खुलेका ३९ जना प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो।
केहीको तीन पुस्ते खुलाउन पनि सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएका छन्।
यी हुन् स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएकाहरू:
परिसरको हिरसतमा रहेका: कमल लामा र सुनिता नेवा
कास्कीमा रहेका प्रतिवादीहरू: कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछाने (उनीहरूमाथि कारबाही गर्न काठमाडौं झिकाउन पनि सरकारी वकिलको मागदाबी छ।)
फरार रहेका प्रतिवादीहरू: गितेन्द्रबाबु राई (जिबी), देवेन्द्रबाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ, विशाल तामाङ, अनन्त बाबु राई, खिमानन्द कँडेल, श्रीवल्लभ नेपाल, गोकुल श्रेष्ठ, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, विरबहादुर रानाभाट, पुष्पराज पौडेल, किरण पुडासाई, कल्याणकुमार घिमिरे, कृष्णबहादुर पोखरेल, जनक भट्टराई, मुखियाकान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी छन्।
यो पनि: काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा रविविरूद्ध पाँच करोडको बिगो, अरूको कति?