काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोगविरूद्ध मुद्दा दर्ता हुँदैछ।
आइतबार सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो।
प्रतिवेदनको अभियोजन सकेर मुद्दा दायर गर्न लागेको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।
प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो।
त्यस्तै ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न पनि राय दिएको हो। सरकारी वकिल कटुवालले भने नाम/ठेगाना खुलेका ३९ जना प्रतिवादीविरूद्ध मुद्दा दायर हुने बताए।
यस सहकारीको ठगीमा जिबी राईले व्यक्तिगत रूपमा सहकारीबाट ६१ करोड ७१ लाख ३६ हजार ९ सय ६५ रुपैयाँ लिएको देखिएको छ।
उनका दाइ देवेन्द्रबाबु राईले १२ करोड ७६ लाख ६८ हजार ९०० रुपैयाँ र कुमार रम्तेलले ४ करोड ६१ लाख ८७ हजार ४१ रुपैयाँ लिएको अभियोगपत्रमा उल्लेख छ।
त्यस्तै कविता तामाङले २५ लाख, हेमन्त अधिकारीले तीन करोड ४८ लाख ८० हजार ८०९ , रविना रिमालले ३० लाख, दिपक लामाले ३ करोड ८४ लाख ४३ हजार ४६८, प्रदिप लामाले ३ लाख र नविन अछामीले ८९ लाख ६५ हजार ८६१ लिएको देखिएको अनुसन्धानमा देखिएको हो।
सरकारी वकिलले उक्त रकम एकमुष्ट रूपमा बिगो असुल गर्न माग राखेको छ।
त्यस्तै प्रहरीले अनुसन्धान गर्दा सहकारीबाट कम्पनीमा गएकोतर्फ पनि छुट्टाछुट्टै प्रतिवादी बनाएर बिगोलाई असुल गर्न माग गरेको छ।
यस सहकारीबाट पनि विभिन्न मितिमा गोर्खा मिडिया नेटवर्क प्रलिमा रकमान्तर भएको देखिन्छ। सरकारी वकिलको कार्यालयले यसबीचमा संचालक भएकाहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो।
२०७७ भदौ १४ गते स्थापना भएको उक्त मिडियामा सुरूमा जिबी राई र छविलाल जोशी संचालक थिए।
जोशीले २०७७ असोज २३ गते कम्पनीको सञ्चालकबाट अलग भएका थिए। त्यस्तै रवि लामिछानेले २०७७ चैत २० गते १ लाख ८० हजार शेयर खरिद गरेर २०७९ असार १ गते शेयर बिक्री गरी सो कम्पनीबाट अगल भएका थिए।
कुमार र कम्तेल पनि २०८० वैशाख १८ गते कम्पनीको संचालकमा नियुक्त भएका थिए।
उक्त कम्पनीमा स्वर्णलक्ष्मी सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ सञ्चालकद्वय जिबी-रविको हकमा बिगो मागदाबी गरेको छ।
अर्का सञ्चालक छविलाल जोशीको हकमा मात्रै ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो माग गरेको छ।
त्यसैगरी अन्य कम्पनीहरू जिबी ग्रुप अफ कम्पनिज, हर्बो इन्टरनेशनल, नेचर नेष्ट, लगायतका संचालकहरूलाई पनि प्रतिवादी बनाएर रकम असुलीको माग गरेको छ।
जिबी ग्रुप अफ कम्पनीजमा मात्रै स्वर्णलक्ष्मीबाट एक करोड ६९ लाख २३ हजार ३०७ रुपैयाँ ऋण लिएर अपचलन गरेको आरोप छ।
यसका अध्यक्ष जिबी राई नै थिए। उनी, शेयरधनी सञ्चालकहरू कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमालसँग उक्त रकम बिगो असुल गर्न माग गरेको हो।
हर्बो इन्टरनेशनल प्रालिमा स्वर्णलक्ष्मीबाट १० करोड २७ लाख ५२२ रुपैयाँ गएको थियो। हर्बोकी अध्यक्ष कविताबाट उक्त रकम असुल गर्नुपर्ने माग छ।
नेचर नेष्टमा एक करोड ९३ लाख २ हजार ६०३ रुपैयाँ गएको भन्दै अनन्तबाबु राई, खिमानन्द कँडेल, श्रीबल्लभ नेपाल र गोकुल श्रेष्ठबाट उक्त रकम असुलीको माग गरिएको छ।
स्पिरिङ उड रियलस्टेट प्रालिले एक करोड ३३ लाख ३६ हजार ४३० रुपैयाँ अपचलन गरेको भन्दै भगवती बम्जनविरूद्ध उक्त रकम कायम गरेको छ।
न्यु स्लक्स अफसेट प्रिन्टर्स प्रालिले पनि गैरकानुनी तरिकाबाट ५३ लाख १५ हजार २८५ रुपैयाँ लिएको भन्दा देवकुमार तामाङलाई प्रतिवादी बनाइएको छ।
गोरखा ग्रुप अफ कम्पनीबाट ४० लाख ७ हजार ७२३ रुपैयाँ अपचलन भएको छ। त्यसमा शिवप्रसाद पौडेल, विरबहादुर रानाभाट, पुष्पराज पौडेलविरूद्ध बिगो असुलीका लागि प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागिएको छ।
सारेगम रेकर्डस प्रालिले ५३ लाख १५ हजार २८५ रुपैयाँ अपचलन गरेको भन्दै किरण पुडासाईबाट रकम असुलीको बिगो कायम गरेको छ।
मन्दरा टुर्स एण्ड एक्सपिडिसन प्रालिबाट जिबी राई र हेम्न अधिकारीले दुई करोड ३ लाख एक हजार ३४० रुपैयाँ अपचलन गरेका हुन्।
गोर्खा हर्बल प्रोडक्सनमार्फत जनक भट्टराईले एक करोड ८२ लाख ८५ हजार ७४५ रुपैयाँ अपचलनको आरोप छ।
प्यागोडा होम्स प्रालिले एक करोड १० लाख ७५ हजार ५७३ रुपैयाँ अपचलन गरेको भन्दै अनन्तबाबु राई, भूपेन्द्र राईसँग बिगो माग गरिएको छ।
भूपेन्द्रबाटै देव दीप एग्रिकल्चर एण्ड एनिमल हस्वेण्ड्री फार्ममा गएको ३ करोड ७८ लाख ७ हजार ९३६ रुपैयाँ बिगो कायम गरेको छ।
भगवती वालुवाखानीबाट ७६ लाख ९० हजार ८९३ रुपैयाँ बिगो मागदाबी गरेको छ।
यी हुन् स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएकाहरू:
परिसरको हिरसतमा रहेका: कमल लामा र सुनिता नेवा
कास्कीमा रहेका प्रतिवादीहरू: कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछाने (उनीहरूमाथि कारबाही गर्न काठमाडौं झिकाउन पनि सरकारी वकिलको मागदाबी छ।)
फरार रहेका प्रतिवादीहरू: गितेन्द्रबाबु राई (जिबी), देवेन्द्रबाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ, विशाल तामाङ, अनन्त बाबु राई, खिमानन्द कँडेल, श्रीवल्लभ नेपाल, गोकुल श्रेष्ठ, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, विरबहादुर रानाभाट, पुष्पराज पौडेल, किरण पुडासाई, कल्याणकुमार घिमिरे, कृष्णबहादुर पोखरेल, जनक भट्टराई, मुखियाकान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धि छन्।