वडाध्यक्षकै नेतृत्व रहेको समूहले मापसे चेकिङमा अवरोध पुर्याएको भन्दै सर्लाहीमा प्रहरीले हवाई फायर गरेको छ।
यो घटना शनिबार बेलुकी ९ बजेतिरको हो।
सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित वैजनाथ चोकमा प्रहरीले मापसे चेकिङ गरेको थियो।
सोही बेला वडा नम्बर ५ का अध्यक्ष शिवनन्दन यादव नेतृत्वमा लाठी र ढुंगामुढा भएको थियो।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार चेकिङमा अवरोध पुर्याएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको हो।
प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ। अहिले उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको एसपी बोहोराले बताए।
उनकाअनुसार सडक दुर्घटना न्यूनिकरण गर्नका लागि अहिले प्रदेशभर मापसे र लापसे (लागुऔषध सेवन) चेकिङलाई तिव्रता दिइएको छ।
त्यसैलाई निरन्तरता दिँदै सर्लाहीमा पनि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिएको थियो।
उक्त टोलीले चेकिङ गर्नेक्रममा स्थानीयसँग विवाद भएको थियो। विवाद भएपछि वडा नम्बर ५ का वडाध्यक्ष यादवकै नेतृत्वमा भीड प्रहरीमाथि जाइलागेको एसपी बोहोराले बताए।
उनकाअनुसार घटनामा संलग्न कोही पक्राउ परेका छैनन्। प्रहरीले अनुसन्धान अघि बढाएको छ।