मुक्कुम्लुङ संरक्षणकर्ताहरूले मेची राजमार्ग, तमोर करिडर र ताप्लेजुङ क्षेत्रमा अनिश्चित समयका लागि यातायात बन्दको घोषणा गरेका छन्।
गिरफ्तार भएका तीन जना मुक्कुम्लुङ संरक्षणकर्ताको रिहाइ माग गर्दै उनीहरूले आइतबारबाट यातायात बन्द गर्ने बताएका हुन्।
मुक्कुम्लुङ (पाथिभरा) मा केबलकार निर्माण गरिने निर्णय भएयता त्यहाँका स्थानीय संरक्षणकर्ताहरूले विरोध जनाइरहेका छन्।
मुक्कुम्लुङ त्यहाँका स्थानीयहरूको धार्मिक आस्थासँग जोडिएको ठाउँ भएको र त्यस ठाउँमा केबलकार आवश्यक नभएको उनीहरूले पटकपटक भन्दै आएका छन्।
मुक्कुम्लुङ संरक्षणकर्मी सरोज याकथुङका अनुसार स्थानीयले केबलकार चाहिँदैन भनेर विरोद जनाउँदै आएकै पाँच वर्ष भइसक्यो। तर यो विषयमा सरकार टसमस छ। प्रहरी र संरक्षणकर्ताहरूको त विभिन्न पटक झडप नै भइसक्यो।
यही पुस १७ गते नाम्जांगे (तल्लो फेदी) मा मुक्कुम्लुङ संरक्षणका लागि इलाम जिल्लाबाट गएका २६ जना मानिसलाई प्रहरीहरूले माथि जान दिएनन्। तीन जनालाई पक्राउ गरेर प्रहरीसहितको टोलीले कुटपिट पनि गरेको सरोजले बताए।
'सरकारको अन्याय र ज्यादतीमाथि हामीले विरोध जनाएका हौं। यहाँबाट केबलकार खारेज नभएसम्म, नाम्जांगेबाट सशस्त्र र जनपद प्रहरी फिर्ता नभएसम्म र तीन जना साथीहरूको रिहाइ नभएसम्म मुक्कुम्लुङ संरक्षणको हाम्रो आन्दोलन जारी छ,' उनले भने।