'ब्रो! आज हेरेको मुभी त कस्तो लेम यार!'
हिजो बाटोमा तीन-चार जना केटाकेटी यस्तै कुराकानी गर्दै थिए। मामुले मलाई सोध्नुभयो, 'यिनीहरूले के भनेको, मलाई बुझाऊ त!'
'आज हेरेको फिल्म त कस्तो झूर थियो,' मैले कुराकानीको अर्थ लगाएँ।
'अनि त्यति जाबो भन्न पनि कति गाह्रो शब्द प्रयोग गरेको!' मामुले मुख बिगार्दै भन्नुभयो, 'म त अहिलेका केटाकेटीले बोलेकै बुझ्दिनँ!'
'इट्स कल्ड जेन-जी ल्याङ्वेज मामु,' मैले उहाँलाई जिस्क्याउँदै भनेँ।
'जेन-जी!' मामुले अचम्म मान्दै सोध्नुभयो, 'के हो त्यो भनेको?'
'ओएमजी!' मैले भनेँ, 'सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्तालाई जेन-जी भनिन्छ। म आफै पनि 'जेन-जी' हुँ। हामी जेन-जीहरू यस्तै बोल्छौं क्या!'
त्यो दिन त्यस्तै भयो, अलि दिनपछि मैले सोचेँ — मामुको कुरा पनि ठिकै हो!
हामी जेन-जीको कुराकानीको माध्यम बदलिँदै छ। हाम्रो धेरैजसो गफ मोबाइलमा लेखेर हुन्छ। यसरी लेख्दा हामी लामो कुरा पनि छोटोमा गर्छौं। त्यसका लागि एक वा दुई अक्षरका शब्द प्रयोग गर्छौं, जसलाई 'स्ल्यांग' भनिन्छ। कतिपय अवस्थामा त अक्षर होइन, इमोजी मात्र पठाउँछौं।
हाम्रा बाबामामु वा पुरानो पुस्ताका मान्छेले त्यस्ता शब्द नबुझ्नु स्वाभाविकै हो। हामी आफैले पनि सामाजिक सञ्जालहरूबाट नयाँ नयाँ शब्द सिकेका हुन्छौं र त्यसलाई साथीहरूमाझ प्रयोगमा ल्याउँछौं। हामीलाई यस्ता शब्द 'कूल' लाग्छन्।
यस्ता शब्द खासगरी कोभिड लकडाउनपछि बढी चल्तीमा आएका हुन्। त्यति बेला हामी सबैको कुराकानीको माध्यम मोबाइल थियो। हाम्रो पुस्ताको त स्कुलको पढाइसमेत मोबाइलबाटै भयो। हामी धेरैजसो समय मोबाइलमै झुत्तिन्थ्यौं। यसले हाम्रो सामाजिक सञ्जाल प्रयोग त बढ्यो नै, सँगसँगै पुरानो पुस्ताले नबुझ्ने छोटकरी शब्दहरू हाम्रो दैनिक जीवनका हिस्सा बन्दै गए।
के तपाईं जेन-जीले प्रयोग गर्ने छोटकरी शब्दहरू बुझ्नुहुन्छ?
मेरो मामुलाई जस्तै तपाईंलाई पनि आफ्ना छोराछोरीले के बोलिरहेका छन् थाहा पाउन मन छ भने आज म यो स्टोरीमा हाम्रो पुस्ताले प्रयोग गर्ने २० वटा छोटकरी शब्द, त्यसको पूरा रूप र अर्थ खुलाउने छु। यीमध्ये कतिपय शब्द पुरानै पुस्ताले प्रयोग गरेका पनि हुन सक्छन्। तर पुरानो पुस्ताले प्रयोग मात्र गर्यो, हामीले त्यसलाई जीवनशैली नै बनायौं।
१) LOL: Laugh Out Loud
पुरानो पुस्ताका मान्छे कुनै कुरामा हाँसो उठ्दा त्यसलाई बुझाउन 'हाहाहा' लेख्छन्। हाम्रो पुस्ता त्यसको सट्टा LOL लेख्छौं। हामीलाई यही कूल लाग्छ। यो अहिलेको ट्रेन्डी शब्द हो।
कहिलेकाहीँ त हामी LOL पनि लेख्दैनौं, इमोजी मात्र पठाउँछौं।
इमोजी पठाउँदा पनि पुरानो र नयाँ पुस्तामा फरक पाइन्छ। पुरानो पुस्ताका मान्छे हाँसिरहेको इमोजी पठाउँछन्। हामी भने हाँस्दा हाँस्दा आँसु नै आएको इमोजी पठाउँछौं।
२) BTW: By the way
एउटा विषयमा कुरा गरिरहँदा बीचमा फ्याट्ट अर्को विषय वा सन्दर्भ झिक्नुपर्यो भने हामी BTW लेख्छौं।
यसले कुराकानीको विषय वा सन्दर्भ अन्तै मोड्न खोजेको भन्ने बुझिन्छ। यसको प्रयोग मोबाइल मेसेज वा बोलीचालीमा बराबर हुन्छ।
३) OMG: Oh my God!
यो शब्दको त्यस्तो खास अर्थ छैन। जसरी कुनै कुरा अचम्म लाग्दा 'आम्मामा' भन्ने चलन छ, त्यस्तै जेन-जीहरू आश्चर्य प्रकट गर्न OMG लेख्छन्। यसको प्रयोग पनि लेख्दा वा बोल्दा दुवै अवस्थामा हुन्छ।
४) ASAP: As soon as possible
कुनै काम जतिसक्दो छिटो गरौं भन्ने अर्थमा यो शब्द प्रयोग गरिन्छ। धेरैले मेसेजमा लेख्छन्। कसै-कसैले बोल्दा पनि प्रयोग गर्छन्।
५) BRB: Be right back
कुराकानीको बीचमा केही काम परेर जानुपरे वा कुनै ठाउँमा एकैछिनमा आउँछु है भन्नुपर्दा यो शब्द प्रयोग हुन्छ।
६) IRL: In real life
यसको अर्थ 'साँच्चिकै' भन्ने हो। कुनै घटना भएकै हो भनेर ठोकुवा गर्नुपर्दा IRL भन्ने चलन छ। यो पनि लेख्दा र बोल्दा दुवैमा बराबर प्रयोग हुन्छ।
७) IDK: I don't know
यसको अर्थ 'मलाई थाहा छैन' हो। कुनै विषयमा आफूलाई जानकारी छैन भने हामी IDK भन्छौं वा लेख्छौं।
८) IDC: I don't care
'अरूले जेसुकै सोचोस्, मलाई बाल् मतलब' भन्ने अर्थमा हामी यो शब्द प्रयोग गर्छौं।
९) CAP: To lie
उदाहरणका लागि- You are capping.
अर्थात्, तिमी झूट बोल्दै छौ।
यहाँ CAP को अर्थ झूट हो। अरूलाई तिमीले बोलेको कुरा साँचो होइन भनेर टिप्पणी गर्नुपरेको अवस्थामा छोटकरीमा यो शब्द प्रयोग गरिन्छ।
१०) Red Flag and Green Flag: Characters in relation
कसैसँगको व्यक्तिगत सम्बन्धबारे कुरा गर्दा Red Flag र Green Flagभन्ने शब्द हिजोआज चल्तीमा छन्। हामी जेन-जी पुस्ता कुनै मान्छेको चरित्र वा व्यवहार कस्तो छ भनेर वर्णन गर्नुपर्दा त्यसलाई रातो र हरियो रङका आधारमा छुट्टयाउँछौं।
उदाहरणका लागि, कुनै मान्छेको व्यवहार नराम्रो छ भने उसलाई Red Flag दिइन्छ। त्यसको ठिक उल्टो, राम्रो छ भन्न Green Flagदिने चलन छ।
११) FIRE: Something impressive or great
उदाहरणका लागि- This new song is FIRE.
अर्थात्, यो गीत धेरै राम्रो छ।
हुन त FIRE को खास अर्थ आगो हो। तर हाम्रो पुस्ताका लागि आगो मात्र होइन। हामीलाई कुनै चिज एकदमै राम्रो लाग्यो भने हामी त्यसलाई FIRE भन्छौं। यो एउटा शब्दले नै हामीलाई त्यो चिज कति धेरै मनपरेको छ भन्ने बुझाउँछ। यो पनि लेख्दा र बोल्दा बराबर प्रयोग हुने शब्द हो।
१२) GHOST: To end communication or contact with someone
उदाहरणका लागि- He/she is ghosting me.
अर्थात्, ऊ मसँग बोल्नै छाड्यो।
यहाँ Ghosting भन्नाले आफूले सधैं बोलिरहने मान्छे एकाएक बोल्नै छाड्यो वा नचिनेझैं व्यवहार गर्यो भन्ने बुझिन्छ। यो पनि लेख्दा र बोल्दा दुवै अवस्थामा प्रयोग हुने शब्द हो।
१३) JK: Just Kidding
कुनै कुरा भनिसकेपछि त्यो गम्भीर थिएन, ठट्टा मात्र थियो भन्ने अर्थमा JK लेख्ने चलन छ। कहिलेकाहीँ हामी गम्भीर कुरा गर्दा बीचबीचमा मजाक गर्छौं। यस्तोमा हाम्रो मजाकलाई अर्को व्यक्तिले गम्भीर रूपमा नबुझोस् भनेर प्रस्ट पार्न यो शब्द प्रयोग गरिन्छ।
१४) NP: No Problem
उदाहरणका लागि- NP, I will do the remaining works.
अर्थात्, केही छैन, बाँकी काम म पूरा गर्छु।
अरूको कुनै काम वा गतिविधिबाट आफूलाई कुनै समस्या परेको छैन भन्ने बुझाउन NP लेखिन्छ। यो बोलीचालीमा पनि प्रयोग हुन्छ।
१५) NVM: Never Mind
कसैलाई कुनै काम अह्रायो र पछि 'भैगो त्यो मै गर्छु' भन्ने भावमा यो शब्द प्रयोग गरिन्छ।
१६) TBH: To be honest
उदाहरणका लागि- TBH this chocolate is not tasty.
अर्थात्, साँच्चै भन्दा यो चकलेट मिठो छैन।
हामी जेन-जी पुस्ताले 'इमानदारीपूर्वक भन्नुपर्दा' भन्ने कठिन शब्दावलीलाई सरल बनाएका छौं र खाली तीन अक्षरमा TBH लेख्छौं। यसले 'मेरो कुरालाई गम्भीरतापूर्वक लिऊ, मैले साँचो भनेको हो' भन्ने बुझाउँछ। यो शब्द हिजोआज एकदमै प्रयोगमा छ।
१७) TTYL: Talk to you later
उदाहरणका लागि, My phone is about to die so ttyl.
अर्थात्, मेरो फोन चार्ज सकिएर बन्द हुन लागेको छ, पछि कुरा गर्छु।
मोबाइलमा मेसेज लेखिरहँदा वा प्रत्यक्ष कुरा गरिरहँदा अचानक केही काम परेर कुराकानी टुंग्याउनुपर्यो भने हामीलाई जम्मा चार अक्षरको TTYL प्रयोग गर्न सजिलो लाग्छ।
१८) SUS: Suspicious
उदाहरणका लागि, You are being SUS.
अर्थात्, तिमीमाथि मलाई शंका छ।
कुनै व्यक्तिको गतिविधि वा कुराकानी शंकास्पद लाग्यो भने त्यस्तो अवस्थामा खाली SUS लेख्दा हामीलाई अर्थ बुझ्न पर्याप्त हुन्छ। यो पनि लेखाइ र बोलाइ दुवैमा प्रयोग हुन्छ।
१९) Drip: Outfit
उदाहरणका लागि, What's your drip tonight?
अर्थात्, आज रातिको पार्टीका लागि तिमी के लगाउँदैछौ?
यहाँ drip शब्दले पहिरन भन्ने बुझाउँछ। कसैको लुगाको स्टाइलबारे चर्चा गर्नुपर्दा यो शब्द प्रयोग गरिन्छ। कुनै पार्टी वा समारोहमा कस्तो पहिरन लगाएर आउँदैछौ भनेर सोध्नुपर्यो भने पनि हामी यो शब्द प्रयोग गर्छौं।
२०) Yap: To talk too much
एकदमै धेरै बोलिरहने अवस्थालाई Yap वा Yapping भनिन्छ। टिकटक वा इन्स्टामा कोही मान्छे एकदमै धेरै बोलिरह्यो भने उसलाई Yapper भन्ने चलन छ। यो पनि जेन-जी पुस्तामा एकदमै ट्रेन्डी शब्द हो।
यी २० वटा शब्द केही उदाहरण मात्र हुन्। यस्ता शब्द थुप्रै छन्, जुन हामी मोबाइल मेसेज आदानप्रदान वा प्रत्यक्ष कुराकानीमा दिनहुँ प्रयोग गर्छौं।
हो, यस्ता शब्द कठिन छन्। नयाँ नयाँ प्रयोगमा आएकाले पुराना पुस्ताले बुझ्दा पनि बुझ्दैनन्। तर भाषा भनेको पुस्ता सँगसँगै बदलिँदै जाने कुरा हो। इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगले आज संसारलाई एक बनाएको छ। पश्चिमी देशमा प्रयोग हुने नयाँ शब्दहरू तुरून्तै यहाँ आइपुग्छन्। कतिपय शब्द यताबाट उता पुग्छन्। यो हाम्रो पुस्ताको निम्ति सामान्य हो।
त्यसैले हाम्रो पुस्ता के सोच्दैछ, के कुरा गर्दैछ भनेर बुझ्नुछ भने हामीले प्रयोग गर्ने भाषा त बुझ्नैपर्छ। पुरानो पुस्ताले हाम्रो भाषा बुझ्दैन भने त्यो हाम्रो गल्ती होइन। नयाँ पुस्तासँग चाल मिलाउने हो भने भाषा पनि त नयाँ सिक्नुपर्यो। होइन त, ब्रो!
***