काठमाडौंको पिंगलास्थानको एक होटलमा युवती मृत फेला परेको घटनामा फरार भनिएका पुरूष मृत फेला परेका छन्।
शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीस्थित एक रूखमा देवकुमार थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए।
थापा आफ्नो घरदेखि अन्दाजी एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
गत बुधबार काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र सुस्मिता खड्का मृत फेला परेकी थिइन्। उनीसँगै थापा पनि नयाँ वर्षको अघिल्लो दिन त्यहाँ पुगेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो। तर खड्का मृत फेला पर्दा थापा भने त्यहाँ थिएनन्।
खोजी गर्ने क्रममा थापा पनि मृत फेला परेका हुन्।
सुस्मिताको मृत्यु कसरी भएको थियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको बाहिरी चोट देखिएको थिएन।
काठमाडौं परिसरका एक प्रहरीले यसको औपचारिक जानकारी लिने काम भइरहेको जानकारी दिए।