केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनलाइन ठगीबाट जोगिन अनुरोध गरेको छ।
शुक्रबार सिआइबी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन्।
केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने कामप्रति ध्यानाकर्षण भएको पनि सिआइबीले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'केही दिनयता फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर, इमो लगायत विभिन्न सामाजिक सञ्जालहरू, इ-सेवा, खल्ती जस्ता वालेट तथा बैंक/बित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारीहरू तथा आम सर्वसाधारणलाई धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने गरेका घटनाप्रति यस ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता प्रकृतिका अनलाइन ठगीबाट बच्न अनुरोध छ।'
हालसालै पोखरामा ५७ लाख रूपैयाँ, चितवनमा १६ लाख रूपैयाँ, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार रूपैयाँ, विभिन्न कम्पनी तथा सर्वसाधारणहरूको करोडौं रकम ठगी गरिएको सम्बन्धन सिआइबीले अनुसन्धान गरिरहेको पनि जनाएको छ।
यस्तो काममा हालसम्म ५०० भन्दा बढी संदिग्ध फोन नम्बरहरू सक्रिय भएकाले यस्ता अपरिचित नम्बरहरूबाट आएका फोन नउठाउन तथा म्यासेजको जबाफ नफर्काउन सिआइबीले अनुरोध गरेको छ। यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा सिआइबी तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
सिआइबीले ठगी कसरी हुन सक्छन् भन्नेबारे जानकारी पनि गराएको छ।
१. इ-सेवा, खल्ती जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरूको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने।
२. इ-सेवा, खल्ती लगायत पटक-पटक गलत पासवर्ड राखेर वालेट केही समयका लागि बन्द हुने बनाइदिने र त्यही बेला वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको वालेमा समस्या आएको छ, म सेवा प्रदायक कम्पनीबाट बोलेको भनेर ओ.टि.पी. माग गर्ने र क्षणभरमै वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेट वा बैंक खातामा ट्रान्सफर गर्ने।
३. सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र एआईद्वारा सिर्जना गरिएका आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईंलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्ने बित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुऱ्याइ पैसा लैजाने।
४. अनलाइन व्यापारका नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो र भिडिओ अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्युआर र बैंक खातामा रकम माग गर्ने र रकम पाएपछि सामान डेलिभरी नगरी सम्पर्क बिहीन भई ठगी गर्ने।