खानेपानी मन्त्री प्रदीप यादवले पर्साको वीरगञ्ज महानगरपालिकामा थपिएका नयॉं वडाहरूमा शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन्।
आज पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकास्थित जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी र जगरनाथपुर सडक (पाँच किमी) सम्मको नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना शिलान्यास गर्दै मन्त्री यादवले आम नेपाली नागरिकसहित यहाँका थपिएका वडाहरूमा शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व रहेको बताए।
उनले भने, 'आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो। म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधैं कटिबद्ध छु।'
सोही क्रममा मन्त्री यादवले पर्सा जिल्लावासी आमनगारिकहरूका लागि खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रूपमा समाधान गरिने समेत बताए।
‘सरकारको एक घर/एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ। हामीले इनर्वा मनियारी लगायतका क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना आज सुरूआत गरेका छौं। पर्सा जिल्लाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौं,’उनले भने।
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले आमनेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हालसम्म नागरिकका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नतर्फ अग्रसर रहेको जिकिर गरे।
पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भूमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाइ थियो।
साविकको वीरगञ्ज नगरपालिका हुँदा यहाँ १९ वटा वडाहरू रहेका थिए भने पछि केही गाउँका १३ वडा थपेर अहिले ३२ वटा वडाहरू पुर्याइएको पर्सास्थित वीरगञ्जका वडाहरूमा अहिले नेपाल खानेपानी संस्थानले खानेपानी मन्त्री यादवको निर्देशनमा नयाँ पाइपलाइन विस्तारको कार्य गरी रहेको नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखा कार्यालयका प्रमुख प्रविन साहले जानकारी दिए।
उनका अनुसार करिब रु दुई करोड ४० लाखमा उक्त परियोजना निर्माण गरिन लागिएको र उक्त नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनामा छ इन्चको जिआइपी पाइप राखिने भएको छ।