कस्तो समस्यालाई कब्जियत भनिन्छ भनेर हामीले अमेरिकन मापदण्डलाई अपनाउँछौं। यसका केही लक्षणहरू हुन्छन्। दिसा गर्दा गाह्रो हुने, दिसा नआउने, कडा आउने, कहिलेकाहीँ दिसा अड्किएको जस्तो लाग्ने यावत कुराहरू हुन्छन्।
यसलाई धेरै गम्भीर रूपमा लिनु पर्दैन। आम मानिसले हेर्दा दिसा राम्रोसँग नहुने, हप्तामा तीन पटक पनि नहुने, कडा दिसा आउने, दिसा गर्न गाह्रो हुने अनि अड्किए जस्तो हुने कहिले/कहिले त दिसा ढुंगाजस्तो भएर औंलाले तानेर समेत निकाल्नु पर्ने हुन्छ। सामान्यत, हामीले खाना खाएपछि दिसा बनेर निस्किन दुई दिन लाग्छ। ५ दिनसम्म पनि राम्रोसँग दिसा भएन भने त्यसलाई कब्जियत भएको भनिन्छ।
ओपिडीमा आउँदा ६०/६५ नाघेका बिरामी कब्जियत भयो भनेर आउँछन्। कहिलेकाहीँ कब्जियत भयो भनेका बिरामीको मलद्वार च्यातिएर फिसर समेत भएको हुन्छ। उनीहरूलाई तपाईंलाई कब्जियत छ भनेर सोध्दा यस्तो छ भनेर आउँछन्।
कतिपय इमर्जेन्सीमा आउनेहरूमा अचानक रूपमा कब्जियत हुने, हावा पनि नखुल्ने, दिसा पनि पास नहुने, पेट फुल्ने लगायतका लक्षणहरू देखिन्छ। त्यस्तै वार्डमा भर्ना भएको बिरामीमा हेर्यो भने कहिलेकाहीँ पाठेघरको अपरेसन गरेको बिरामी अथवा सिजेरियन सेक्सनमा अपरेसन गरेको बिरामी २/३ दिनमा पनि हावा खुलेन, दिसा पनि भएन एकचोटि हेर्दिनुपर्यो भनेर रिफर भएर आएका हुन्छन्।
त्यस्तै, आइसियु,सिसियुमा एकदम क्रिटिकल बिरामीहरू कब्जियत भएर आउँछन्। कतिपय बुढाबुढीहरू दिसा अड्किएर आउँछन्। हामी यसको कारण खोज्न जान्छौं। हामीले बिरामीको स्वास्थ्य अवस्था बुझेर कारण खोज्छौं। आम मानिसले सोचेजस्तो एउटा बोतल औषधिले ठीक हुन्छ भने जस्तो पनि कब्जियत होइन।
बिरामीको रगतको कमी छ कि छैन, पेट फुलेको छ कि छैन, पेटमा केही चिज छ कि भनेर पेट पनि छाम्छौं। यसमा छुटाउनै नहुने भनेको हामीले मलद्वारमा औंलाले जाँच गर्छौं/छाम्छौं। कहिलेकाहीँ मलद्वारभित्रको समस्याले पनि कब्जियत हुन्छ। कब्जियत जाँचिसकेपछि थाइराइड, क्याल्सियम, हेमोग्लोबिन लगायत परीक्षण गर्छौं। कहिलेकाहीँ औषधिले गर्दा पनि कब्जियत हुन्छ।
४५ वर्षभन्दा माथिको व्यक्ति कब्जियत भएर आएको छ भने अलि विस्तृतमा परीक्षण गरिन्छ। त्यस्तो बिरामीलई क्लोनोस्कोपी गरेर हेर्नुपर्छ। ४५ वर्षभन्दा तल उमेरको छ भने ठूलो समस्या हुने सम्भावना कम हुन्छ। ठूलो आन्द्रा राम्रोसँग चलेन अथवा खानपिन, पानी पर्याप्त अथवा रेसादार खानाको कमी भयो भने पनि कब्जियत हुनसक्छ।
४५ वर्षभन्दा कम उमेर भएकालाई दिसामा रगत आउने अनि दुब्लाउने भएको छ भने सतर्क हुनुपर्छ। त्यसैले भर्खरको उमेर छ भन्दैमा चुप लागेर बस्न हुँदैन।
कब्जियतको कारण छुट्टाएर हामीले परीक्षण र उपचार गर्छौं।
कब्जियतको कारणमा एउटा मनोवैज्ञानिक पनि हुनसक्छ।
कब्जियत हुने सम्भावनालाई कम गर्ने केही उपाय छन्। सबैभन्दा पहिलो उपाय भनेको दिनमा २ देखि ३ लिटर पानी खाने हो। यसो भन्दै गर्दा मुटु,मिर्गौला लगायतका दीर्घ रोगीहरूले चिकित्सकको सल्लाह अनुसार खानुपर्छ। त्यस्तै हामीलाई एक दिनमा २० देखि ३० ग्राम फाइबर जरूरी पर्छ। फाइबरको लागि के खाने भन्ने हुनसक्छ। जस्तो: एउटा स्याउमा ३.५ ग्राम फाइबर हुन्छ। त्यस्तै सागसब्जी छँदैछ। कहिलेकाहीँ फाइबरको चक्की समेत खानुपर्ने हुनसक्छ। योसँग नियमित व्यायाम पनि गर्नुपर्छ।
(ओम अस्पातलमा कार्यरत वरिष्ठ ग्याष्ट्रो सर्जन प्राध्यापक.डा.कमल कोइरालासँग कब्जियत के कारणले हुन्छ, यसको उपचार के हो र जोगिनलाई के गर्ने लगायतका विषयमा हामीले भिडिओ कुराकानी गरेका छौं।)