कैलालीमा जारी शीतलहर र त्यसले जनजीवनमा पारेको प्रभावलाई कम गर्न सरोकारवालाबीच छलफल भएको छ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा आयोजित यस बैठकमा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय सरकारी र गैरसरकारी संस्थाहरूका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकका क्रममा विभिन्न संस्थाहरूले शीतलहर तथा अन्य प्राकृतिक विपद् न्यूनीकरणका लागि गरिरहेका कामबारे जानकारी गराए। उनीहरूले विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय समुदायमा केन्द्रित योजनाहरू लागू गर्नुपर्नेमा जोड दिएका थिए।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले शीतलहरजस्ता प्राकृतिक विपद् न्यूनीकरणमा सबै संस्थाहरूको एकीकृत प्रयास आवश्यक रहेको बताए।
उनले प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्न सुझाव दिए। ´सहकार्य र समन्वयबाट मात्रै विपद् व्यवस्थापनमा प्रभावकारी नतिजा निकाल्न सकिन्छ,`मिश्रले भने।
बैठक जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको थियो।
बाक्लो हुस्सुले जनजीवन प्रभावित
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा दुई दिनयता बाक्लो हुस्सुले जनजीवन प्रभावित भएको छ।
बिहानदेखि साँझसम्म घाम नलाग्दा चिसो झन् बढेको छ। दैनिक मजदूरी गर्ने वर्ग, विद्यार्थी र बृद्धवृद्धाहरू यसबाट विशेष प्रभावित भएका छन्।
स्थानीय प्रशासनले शीतलहरको प्रभावबाट जोगिन न्यानो कपडा लगाउन, अनावश्यक घरबाहिर ननिस्कन र सचेत रहन अपिल गरेको छ। साथै, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले प्रभावित समुदायलाई न्यानो कपडा वितरण, तातो खाजाको व्यवस्था र अस्थायी तापक्रम केन्द्रहरू सञ्चालन गर्ने जनाएको छ।
शितलहरबाट बचाउन मिडिया, सञ्चारका माध्यमले सन्देशमुलक सामाग्री उत्पादन गरेर नागरिकलाई सचेत पार्न काम गरिरहेका जनाएको छ।
तराईमा बाक्लो हुस्सुका कारण यातायात, कृषिका साथै व्यवसाय क्षेत्रमा पनि नकारात्मक प्रभाव परेको छ। किसानहरूले चिसोले बालीमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् भने सवारीसाधन चलाउन मुस्किल भएपछि यात्रुहरूलाई गन्तव्यमा पुग्न ढिलाइ भएको छ।
शीतलहर र चिसोको प्रभावलाई कम गर्न स्थानीय प्रशासन र संघसंस्थाहरूको सक्रियता बढाइएको जनाइएको छ। बैठकबाट निकालिएका निष्कर्षहरूलाई व्यवहारमा उतार्न सके चिसोबाट प्रभावित समुदायको राहत हुने अपेक्षा गरिएको छ।