रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बिहीबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
जिपको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५० मिटर खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परी सहचालक रोल्पालको सुनछहरी गाउँपालिका-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ति गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।
धुम्सीकै २५ वर्षीय प्रेम रोका मगरको टाउकोमा चोट लागेको र अवस्था मध्यम छ। सुनछहरी-७ पोर्वाङका ४३ वर्षीय टेकबहादुर बुढा मगरको पनि टाउकोमा चोट छ। दुवैको स्वास्थ्य अवस्था मध्यम रहेको र प्राथमपिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चालक धुम्सीकै २९ को धनिराम घर्ति मगरको अवस्था भने सामान्य छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।