राजद्रोह भड्काएको र आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप लगाउँदै वेस्ट बैंकमा शासन गर्ने प्यालेस्टिनी अथोरिटीले अल जजिरा टेलिभिजन च्यानललाई अस्थायी प्रतिबन्ध लगाएको छ।
अल जजिराले तुरून्तै स्थानीय कार्यालय बन्द गर्नुपर्ने र पत्रकारको सबै काममा रोक लगाउनुपर्ने भनेर प्यालेस्टिनी सरकारले उर्दी जारी गरेको छ। अल जजिराले उसको कानूनी हैसियत नसुधारेसम्म प्रतिबन्ध लागु हुनेछ।
अल जजिराले कसरी स्थानीय कानून उल्लंघन गर्यो भनेर विस्तृत रूपमा खुलाएको भने छैन। प्यालेस्टिनी अथोरिटीले इसराइल अधीनस्थ वेस्ट बैंकका मुख्य सहर सहितको क्षेत्रमा शासन चलाउँछ।
बिहीबार एक विज्ञप्ति निकाल्दै अल जजिराले प्यालेस्टिनी अथोरिटीको प्रतिबन्धको भर्त्सना गर्दै उक्त कदम प्यालेस्टाइनमा कब्जा गर्ने इसराइलको जस्तै भएको औंल्याएको छ।
इसराइलले कब्जा गरेको प्यालेस्टिनी भूमिमा बढिरहेको हिंसात्मक गतिविधिको समाचार संकलन रोक्ने प्रयास गरेको भन्दै अल जजिराले प्यालेस्टिनी अथोरिटीलाई सो प्रतिबन्ध तुरून्तै फिर्ता गर्न आग्रह समेत गरेको छ।
इसराइलले गत मे महिनामा अल जजिरा टेलिभिजनलाई आतंककारी च्यानल भन्दै प्रतिबन्ध लगाएको थियो।
इसराइली संसदले सरकारलाई अस्थायी रूपमा विदेशी मिडिया बन्द गर्न अनुमति दिने कानून पारित गरेर अल जजिरालाई प्रतिबन्ध लगाएको थियो। सो कानूनले सरकारलाई अस्थायी रूपमा ती विदेशी मिडियाका कार्यालयहरू बन्द गर्न, उपकरण जफत गर्न, इसराइली केबल र स्याटेलाइट टेलिभिजन प्रदायकहरूबाट हटाउन र कुनै पनि पहुँच रोक्ने अधिकार दिन्छ।
अल जजिराको अरबी भाषाको च्यानल मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम हो। इसराइलले भने यसलाई आतंककारीको मुखपत्र भन्ने आरोप लगाउँदै आएको छ।
कतारमा आधारित अल जजिराले आफूलाई आंशिक रूपमा सरकारी लगानी भएको स्वतन्त्र संस्था भन्ने गरेको छ। तर इसराइल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देशले तानासाही शासन भएको कतारले सरकारी प्रभाव फैलाउन खोलेको सञ्चार माध्यम भएको आरोप लगाउँछन्।
अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमणपछि इसराइली आक्रमणमा परेर अल जजिराका केही पत्रकार मारिएका छन्। इसराइलले भने उनीहरू हमासका आतंककारी भएकाले मारिएको भन्दै आएको छ।
हमासको प्रतिद्वन्द्वी मानिने अन्तर्राष्ट्रिय मान्यता पाएको प्यालेस्टिनी अथोरिटीले पनि इसराइलले जस्तै प्रतिबन्ध लगाएपछि अल जजिराको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)