मकवानपुरमा मानिस र बाख्रा मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ।
मंगलबार साँझ सवा ७ बजे मनहरि गाउँपालिका वडा नम्बर ५ बसन्तपुरको सुकौरा खोलाबाट एउटा बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सुकौरा खोलामा एम्बुस थापेर बाघ नियन्त्रणमा लिइएको हो।
पर्सा वन्यजन्तु आरक्षण, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र चारवटा हात्तीसहित खटिएको टोलीले उक्त बाघलाई नियन्त्रणमा लिएको हो।
बाघको सोमबारदेखि खोजी सुरू भएको थियो। अहिले उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षण लगिएको छ।
बसन्तपुरको वडा कार्यालय नजिकै बस्ने धनबहादुर रूम्बाकी श्रीमती ७२ वर्षीय कान्छीमाया रुम्बा आइतबार मृत फेला परेकी थिइन्।
अपराह्न ४ बजेतिर नजिकै बारीमा घाँस काट्न गएको बेलामा अबेरसम्म नफर्किएपछि घरपरिवारले खोजी गर्न थालेका थियो। घरबाट ५०० मिटर पूर्वतिर बारीमा उनी मृत फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनको शरीरमा बाघले आक्रमण गरेका चोटहरू थिए।
त्यस्तै सोमबार बिहान ५ बजे बसन्तपुरकै सूर्यबहादुर मोक्तानको घरनजिकैको खोरमा सात वटा बाख्रा मारिएको अवस्थामा फेला परेको थियो। एउटा बाख्रा भने बाघले जंगलमै लिएर गएको थियो।
यसरी एक जना मानिस र बाख्रा मारेपछि बाघ नियन्त्रणमा लिन टोली खटिएको थियो।