खानेपानी मन्त्री प्रदीव यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आज बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्।
‘झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरूलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष्य छ,’ मन्त्री यादवले भने,‘सोही अनुसार काम भइरहेको छ। बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।’
उक्त आयोजनाका विषयमा आज सरोकारवालसँग विस्तृत छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्दै मन्त्री यादवले खानेपानीसम्बन्धी नागरिकका समस्या समाधानका लागि आफू हर समय प्रतिबद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाए।
बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहे पनि अहिले जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको र झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले दाबी समेत गरे।
झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुने गरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारी समेत दिए।
करिब ६ अर्वको लगानीमा झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ। विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ।