मधेस प्रदेश सरकारले मधेस आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका परिवारका लागि स्वास्थ्य बीमा गरिदिने भएको छ।
मधेस आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका एक हजार ८१ परिवारलाई स्वास्थ्य बीमा गर्न मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बीमा बोर्डबीच सहमति सम्झौता भएको छ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेशसचिव उद्धवप्रसाद रिजालका अनुसार स्वास्थ्य बीमाका लागि आवश्यक सहिद परिवारका विवरण संकलन गर्न स्वास्थ्य बीमा बोर्डका कर्मचारी फिल्डमा खटिइसकेका छन्।
विवरण प्रशोधन गरेर नामावली तयार भएपछि सरकारले स्वास्थ्य बीमा प्रयोजनका लागि बोर्डलाई प्रतिपरिवार तीन हजार पाँच सयका दरले रकम पठाउने प्रदेशसचिव रिजालले बताए।
वार्षिक तीन हजार पाँच सय रुपैयाँ दिएपछि एक परिवारका पाँचजना सदस्यसम्म स्वास्थ्य बिमित हुने गर्छन्।
प्रदेश सरकारले मधेस आन्दोलन र सशस्त्र द्वन्द्वका सहिद परिवारको स्वास्थ्य बीमाका लागि ४० लाख रुपैयाँ चालू आर्थिक वर्षमा विनियोजन गरेको छ।