इँटाभट्टा सञ्चालकसँग इँटाभट्टा सञ्चालन भएको जमिन मुनिबाट सुन निकालेर दिने प्रलोभनमा पारी दुई करोड ठगी गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिकविरूद्ध प्रहरीले ठगी मुद्दा लगाएर अनुसन्धान जारी राखेको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ मोहनपुर इँटाभट्टा सञ्चालक नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई पुस ५ गते पक्राउ परेका थिए।
प्रहरी हिरासतमा रहेका हलवाई भारतकै बलराम जिल्लाका ‘मुन्ना’ भनिने व्यक्तिसँग मंसिरमा इँटाभट्टामा काम गर्ने मजदुरहरूको झारफुक गर्ने बहानामा पुगेका थिए।
घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय बाँकेका सई मणि लामिछानेका अनुसार मंसिरमा इँटाभट्टामा कार्यरत मजदुरहरूको झारफुक गरिदिने वा ग्रहदशा हेरिदिने बहानामा त्यहाँ पुगेको भनेर बयान गरेका छन्।
हलवाई र मुन्नाले इँटाभट्टाका सञ्चालक नसिर अहमद बेहेनालाई भेटेर उनको इँटाभट्टाको जमिनमुनि बहुमूल्य सुनको खानी रहेको भ्रममा पारेका थिए।
भट्टा सञ्चालक बेहेनालाई त्यो भ्रमको विश्वास पारेपछि हलवाई र मुन्ना भन्ने व्यक्तिले सुन निकाल्न तन्त्रमन्त्र गर्नुका साथै लामो जमिन पूजा गर्नुपर्ने भ्रममा पारेका थिए।
सुन निकाल्नुभन्दा पहिले जमिनको लामो समय पूजा गर्नुपर्ने तथा काँसीका ब्राह्मणलाई पूजाका लागि निम्त्याउनु पर्ने तथा उनीहरूलाई पूजा गरी खुवाउनुपर्ने भन्दै एक पटक भारतीय ४० लाख, २० लाख र ३५ लाख रुपैयाँ ठगी गरी फुत्काउन सफल भएका थिए।
तर, त्योभन्दा पहिला उनीहरूले आफै नाटक गरी जमिनमुनि रातिमा सुटुक्क (कसैले नदेख्ने गरी) सुनको जस्तो पहेंलो रङरोगन लगाएका सिक्काहरू राखेर तीन वटा घैंटाहरू जमिनमुनि पुरेको तथ्य खुलेको सई लामिछानेले बताए।
उनीहरूले इँटा पोल्दाको क्रंकिटहरू पनि सँगै ती घैंटाहरूमा भरेको अवस्थामा फेला परेको प्रहरी बताउँछ। जसलाई उनीहरू दैविक चमत्कार र थप सुन जमिनमुनि रहेको दाबी गर्दै व्यवसायीलाई भ्रममा पारिरहेका थिए।
इँटा बेचेको पैसाका साथै भट्टा सञ्चालक बेहेनाबाट बैंकको ओडी लोनसमेत गराई रकम फुत्काएको तथ्य फेला परेको प्रहरी अधिकारीहरू बताउँछन्।
क्रमिक रूपमा भ्रममा पारी भट्टा सञ्चालक बेहेनाबाट करोड बढी रकम फुत्काएपछि हलवाई फेरि काँसीमा गई पूजा गरी फर्किन्छु भनेर गएका थिए। व्यवसायीलाई भ्रममा पारी फेरि थप रकम फुत्काउन सकिन्छ भन्ने सोचका साथ हलवाई फर्केर आएका भए पनि वास्ता नगरी लुकिछिपी बस्न थालेका थिए।
तर, त्यो बीचमा व्यवसायी बेहेनालाई मनमा चिसो पसिसकेको थियो। उनीहरू झुट हुन र आफू उनीहरूको भ्रममा पर्नु गल्ती हो, भन्ने महसुस गरिसकेका थिए। व्यवसायी बेहेनाले बल्ल मंसिर १५ गते जिल्ला प्रहरी कार्यालयमा पुगेर हलवाईविरूद्ध किटानी जाहेरी दिएका थिए।
घटनाको सूक्ष्म अनुसन्धानपछि प्रहरीले हलवाईलाई पुस ५ गते पक्राउ गरेको थियो। भारतीय नागरिक हलवाई र मुन्ना भन्ने व्यक्तिले बेहेनाबाट विभिन्न प्रलोभनमा पारी फुत्काएको करोड बढी भारतीय रकम भने बरामद भइनसकेको बताएको छ।
सई लामिछानेले मुन्ना भन्ने व्यक्तिको खोजी भइरहेको बताए।
व्यवसायी बेहेनाबाट विभिन्न भ्रम र प्रलोभनमा पारी फुत्काएको करोड बढी भारतीय रुपैयाँ उनीहरूले भारतमै पुर्याएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।
यो पनि: जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी
मित्रता गाँसेर भारतीय नागरिकले जमिनमुनिबाट सुन निकालिदिन्छु भन्दै गरेका थिए ठगी