पर्सामा खुर्सानीको बोरामा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
सोमबार वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बहुदमाई गाउँपालिका-३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री राम पक्राउ परेका हुन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल फेला पारेको हो।
नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा बुझाएको डिएसपी थापाले बताए।