अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभले रूसले दुर्घटनावश् अजरबैजान एयरलाइन्समाथि प्रहार गर्दा दुर्घटना भएको बताएका छन्।
आइतबार उनले एजेडटिभी टेलिभिजनसँग अन्तर्वार्ता दिँदै डिसेम्बर २५ मा ३८ जनाको मृत्यु भएको जहाज दुर्घटनाको जिम्मेवारी रूसले लिनुपर्ने बताएका हुन्।
अलियेभले शनिबार मात्रै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए। फोनमा पुटिनले रूसको गल्ती स्वीकार नगरिकनै माफी मागेका थिए।
रूसको राष्ट्रपति भवन क्रिमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले आइतबार पुन: दुर्घटनाबारे विविध पक्षमा छलफल भएको इन्टरफ्याक्सलाई बताएका हुन्।
‘जहाजको मुख्य भाग नजलेकाले हामीले आज खुलेर भन्न सक्छौं जहाज रूसले खसालेको थियो,’ अलियेभले अन्तर्वार्तामा भनेका थिए, ‘हामीले यो जानाजान गरेको हो भनेर भनेका हैनौं, तर यो घटना भएको हो।’
अजरबैजानको बाकुबाट रूसको ग्रोज्नी जाँदै गर्दा कजाकिस्तानको अक्टाउमा दुर्घटनामा परेको थियो। जहाजमा सवार २९ जनाले ज्यान जोगाएका थिए। ३८ जनाको मृत्यु भएको थियो।
अजरबैजान एयरलाइन्सले पनि गत बिहीबार दुर्घटना बाह्य हस्तक्षेपबाट दुर्घटना भएको बताएका थिए।
ग्रोज्नी, मोज्डोक र भ्लाडिकाभकाज सहरमा युक्रेनी कम्ब्याट ड्रोनले आक्रमण गरिरहेकोबारे पुटिनले अलियेभलाई जानकारी गराएका थिए। रूसी एयर डिफेन्स सिस्टमले युक्रेनी ड्रोन आक्रमण रोक्न खोजिरहेको पुटिनले बताएका थिए।
अलियेभले यस घटनामा रूसले जिम्मा लिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र अजरबैजान राज्य र पीडित परिवारलाई राहत दिनुपर्ने समेत माग गरेका थिए।
रूसले सुरूमा जहाजसँग चरा ठोक्किएको भाष्य निर्माण गर्न खोजेको थियो। अजरबैजानले यसको निष्पक्ष अनुसन्धान गर्न माग गरेको थियो। अन्तर्राष्ट्रिय विज्ञ टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। रूसले पनि यसमा अनुसन्धान गरिरहेको छ।
यो पनि: अजरबैजानको जहाज रूसी एयर-डिफेन्स सिस्टमले खसालेको दाबी