दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धारकार्य अपराह्नसम्मै जारी छ।
दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन्।
जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९:०७ बजे जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो।
१७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ। भिडिओ फुटेजहरूमा पनि जहाजको पाङ्ग्रा निस्किएको देखिँदैन।
दुर्घटनालगत्तै दुई जनाको भने उद्धार गरिएको थियो। उनीहरू दुवै चालक दलका सदस्य रहेको बताइएको छ। उनीहरूलाई उद्धारलगत्तै अस्पताल लगिएको थियो। दुवै जना खतरामुक्त रहेको पनि योनहापले लेखेको छ।
दुई जनाबाहेक अब कोही पनि जिवित फेला नपर्ने उद्धारकर्मीहरूले बताएका छन्। यद्यपि ३ जना अझै पनि नभेटिएको योनहाप न्युजले उल्लेख गरेको छ।
यो पनिः धावनमार्गमा यसरी चिप्लिएको थियो दक्षिण कोरियामा दुर्घटना भएको जहाज (भिडिओ)
भेटिएकामध्ये शरीरको अधिकांश भाग जलेका कारण ९ वटा शव महिलाको कि पुरूषको भन्ने समेत पहिचान गर्न नसक्ने अवस्थामा रहेको सिएनएनको समाचारमा उल्लेख छ।अरू शव पनि पहिचान गर्न नसकिने अवस्थामा छन्। जेजु एयरले मृतकका आफन्तहरूसँग दुर्घटनामा परेका यात्रुका अन्य विवरण मागेका छन्।
बाँकी यात्रुको खोजीपछि जहाजको ब्ल्याक बक्स खोजिने त्यहाँका अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि कार्यवाहक राष्ट्रपति चोइ स्याङ मक पनि विमानस्थल पुगेर त्यहाँको अवस्था बुझेका थिए।
जहाज के कारणले दुर्घटना भयो भन्नेबारे जाँच कमिटी बनाइने दक्षिण कोरियाका भूमी मन्त्रीले पत्रकार सम्मेलनमा बताएका छन्।
मन्त्रालयले विमान दुर्घटनाको छानबिन र कारण पत्ता लगाउन ६ महिना देखि ३ वर्षसम्म लाग्न सक्नेपनि बताएको छ।