कञ्चनपुरकी चाँदनी विष्ट श्रीमानको अन्त्येष्टि गर्नेलगायत कामका लागि रुस उडेकी छन्।
नेपालबाट हवाई टिकट शुल्क धेरै लाग्ने भएपछि भारत गएर उतैबाट पुस १० गते विष्ट रुस उडिन्।
रुसमा रहँदा उनले श्रीमानको अन्त्येष्टि गर्नुपर्नेछ। रुसी सेनामा कार्यरत घाइते देवरको उपचार र हेरचाह गर्नुछ भने नाताले नाति पर्ने लोकेन्द्रको खोजीका लागि हारगुहार गर्नुछ।
उनका श्रीमान् कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ९ का विराजन विष्ट गत वर्ष मंसिरमा रुस गएका थिए। उनले भाइ निराजनलाई पनि उतै बोलाए। दुबई हुँदै निराजन रुस पुगेका थिए।
नाताले चाँदनीका नाति पर्ने लोकेन्द्र विष्ट पनि रुसमै गए। उनीहरू सबै रुसी सेनामा भर्ती भएका थिए। उनीहरूलाई रुसले युक्रेनको युद्धग्रस्त क्षेत्रमा खटायो।
गत वैशाख ५ गते बंकरभित्र बम विस्फोटमा परेर विराजनको मृत्यु भयो। केही समयमा उनका भाइ निराजनले दाजु विराजनको मृत्युको खबर परिवारलाई फोन गरी सुनाए। रुसी सेनामा कार्यरत निराजन युद्धमा घाइते छन्।
विराजनको मृत्युको खबर पाएपछि परिवारका सदस्यहरूले वैशाख २७ गते कुशको शव बनाएर अन्त्येष्टि गरे। रुसी सेनामा कार्यरत व्यक्तिको शव ल्याउन दिँदैन भनेपछि उनीहरूले कुशको शव बनाएर अन्त्येष्टि गर्नु परेको थियो।
विराजनको मृत्युमा नेपाल सरकारले केही बोलेको छैन। परिवारका सदस्यहरूले विराजनको मृत्युमा राहतको पहल गरिदिन र युद्धमा घाइते भएका निराजनको उपचारका लागि पहल गरिदिन पटक-पटक सरकारलाई आग्रह गरेका थिए।
सरकारले खासै पहलकदमी नलिएको लागेपछि रुसी सेनामा मृत्यु र घाइते भएका नेपालीहरूले एउटा समूह बनाएका छन्- रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान।
यो अभियानमा जोडिन पुगिन्- चाँदनी विष्ट।
यो समूहमा रुसी सेनामा काम गरेर मृत्यु भएका र युद्धमा परेर घाइते भएका करिब तीन सय परिवारका सदस्यहरू छन्। उनीहरूले रुसमा मृत्यु भएकाहरूको शव र घाइतेहरूको उपचार गर्नुपर्ने माग राखेर सरकारलाई दबाब दिँदै आएका छन्।
चाँदनीले श्रीमानको अन्त्येष्टि, राहत र घाइते देवर तथा लोकेन्द्रको खोजीका लागि रुस जाने इच्छा गरेपछि आफूले कागजपत्र मिलाउनेलगायत सहयोग गरेको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको भनाइ छ।
‘श्रीमानको मृत्यु भएको सरकारले पुष्टि गरेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरे पनि श्रीमानको शव रूसमै छ,' चाँदनीका भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘श्रीमानको शव बुझ्न पाइयो भने त्यहीँ अन्त्येष्टि गर्छु, नभए अस्तु लिएर फर्किन्छु।'
श्रीमानको मृत्युको खबर पाउनासाथ चाँदनी रुस जान खोजेकी थिइन् तर मिलेन। उनको काँधमा दुई सन्तानको रेखदेख गर्ने दायित्व पनि छ।
श्रीमानको मृत्युको खबरपछि उनले रुस सरकारलाई पटक-पटक पत्राचार गरेकी थिइन्।
यो घटना थाहा पाएका चाँदनीका दाइसमेत रहेका बेदकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जनक विष्टले भने, ‘उहाँले आफन्तको सहयोगमा रुस सरकारलाई पटक-पटक पत्राचार गर्नुभयो। दुई महिनाअघि मात्र त्यहाँको सरकारले उहाँ (विराजन) को मृत्यु पुष्टि गरेको थियो।’
रुसी सरकारले मृत्यु भएका विराजनका परिवारलाई राहत दिने भनेको छ।
रुसले त्यसका लागि परिवारका सदस्य मस्कोस्थित नेपाली दूतावास आउनुपर्ने भन्दै आएकोमा अहिले नेपालमै राहत पठाउने व्यवस्था गर्न लागेको छ।
तर देवरको उपचार र नाति पर्ने लोकेन्द्रको खोजीका लागि पहल गर्न चाँदनी रुस गएकी हुन्।
'नाति लोकेन्द्रबारे पनि खबर राम्रो सुनिएको छैन। तर सरकारले पुष्टि गरिसकेको छैन। यस्तो अवस्थामा हामीले उनलाई रुस नजान भन्न सकेनौं,’ जनकले सेतोपाटीसँग भने, ‘त्यहाँ रहेका साथीहरूले पनि सहयोग गर्छौं भनेका छन्।’
उनकाअनुसार मृत्यु भएका व्यक्तिहरूको रूस सरकारले अस्तु राखिदिएको भन्ने छ। अस्तु त्यहीँ विसर्जन गर्न पाइन्छ, नेपाल नै लैजान्छु भने पनि मिल्छ। तर यहाँ कुशको शव बनाएर अन्त्येष्टि गरेकोले अस्तु ल्याउने कि नल्याउने टुंगो लगाउन बाँकी छ।
चाँदनी रुस जान खोजेको लामो समय भइसकेको छ। तर कागजी प्रक्रिया पूरा हुन समय लाग्यो।
'कागजात मिलाउन दुई महिना लाग्यो, टिकट नेपालबाट भन्दा भारतबाट सस्तो भएपछि त्यहाँबाट जाने निधो भयो। भारतबाट जाँदा ७० हजार रूपैयाँ कम पर्ने रहेछ,' उनले भने, ‘चाँदनीसँगै भाइलाई पनि साथी पठाएका छौं। हामीले आफ्नै खर्चमा उनीहरूलाई रुस पठाएको हो।’
उनकाअनुसार राहतबापत झण्डै डेढ करोड रूपैयाँ पाउने भनिएको छ। यो पैसा किस्ताबन्दीमा आउँछ। राहत नआउन्जेल कुर्ने र त्यो समयमा घाइते देवरको उपचार र नातिको खोजी गर्ने हो। त्यसबेलासम्म रुसी सेनामा आबद्ध भएका नेपालीले उनलाई मस्कोमा रहन सहयोग गर्नेछन्।
रूसी सेनामा आबद्ध भएर युद्धमा मृत्यु भएकाहरूको परिवारलाई सरकारले आवश्यक सहयोग गर्दै आइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बताए।
'सरकारको नीति नियममा बसेर मृतकका परिवारलाई सहयोग र सहजीकरण गर्दै आएका छौं,' उनले भने
कन्सुलर सेवा विभागका निर्देशक तथा प्रवक्ता लेखनाथ गौतमका अनुसार मस्कोस्थित नेपाली दूतावासले नै चाँदनीलाई पठाउन पत्राचार गरेपछि थप सहजीकरण गरिदिएको जानकारी दिए।
'दूतावासले नै पत्राचार गरेपछि हामीले अनुमति दियौं,' उनले भने, 'बाँकी प्रक्रिया उहाँहरू आफैंले गर्नुभएको हो।'
मस्कोस्थित नेपाली दूतावासले पुस ८ सम्म परराष्ट्र मन्त्रालयमा पठाएको विवरण अनुसार हालसम्म रुस-युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ।