सौराहामा विहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू हुँदैछ।
१८ औं संस्करणको महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरिँदैछ।
उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्नेछन्।
क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि गरेर महोत्सव गर्दै आएको छ।
पुस १६ गतेसम्म हुने महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी, हात्तीको म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावनाको विषयमा अन्तक्रिया हुने संयोजक रामकुमार अर्यालले बताए।
सरकारी र निजी गरी ८० वटा हात्तीलाई महोत्सवमा सहभागी गराइनेछ।
हात्तीलाई मर्का पर्ने गरी महोत्सवमा सहभागी गराउन खोजिएको भन्दै पशु अधिकारका लागि सक्रिय संस्था तथा व्यक्तिहरूले विरोध गर्दै आएका छन्।
यसपालिको महोत्सवमा हात्ती पोलो पनि आयोजना गरिने भनिएकोमा विरोधपछि आयोजकले हात्ती पोलोको कार्यक्रम स्थगित गरेका छन्।
सौराहाका निजी हात्तीलाई जंगल सवारीका लागि एकीकृत गर्दै आएको संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आगामी दिनमा गरिने कुनै पनि मेला महोत्सवमा हात्ती पोलो खेल समावेश नगर्ने प्रतिबद्धता जनाएको छ।
यसपालिको महोत्सव पनि पशु अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्था तथा पशुअधिकारकर्मीले परवेक्षण गर्ने गरी सञ्चालन गर्ने सहमति भएको सहकारी संस्थाका अध्यक्ष दीपक खतिवडाले बताए।
हात्तीमैत्री गतिविधि नभएमा आवश्यकताअनुरुप परिमार्जन गर्ने र आवश्यक परेमा कार्यक्रम नै हटाउने निर्णय भएको एनिमल राइट क्लव नेपालका सहअध्यक्ष सुराजन श्रेष्ठले बताए।
‘यो पटकको महोत्सवमा हामीले पर्यवेक्षण गर्ने र प्रतिवेदन तयार पार्ने, त्यसको आधारमा आगामी दिनमा कस्ता गतिविधि गर्ने भनेर निर्णय गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘महोत्सवमा हुने गतिविधिले हात्तीलाई असर परेको छ भन्ने निष्कर्ष निस्कियो भने आगामी दिनमा हटाउनेसम्मको सहमति भएको छ।’
निकुञ्जको मध्यवर्ती क्षेत्रमा महोत्सव गर्दा हुने ध्वनी प्रदूषणले वन्यजन्तुलाई असर पर्ने र वन्यजन्तुका कारण महोत्सव अवलोकनकर्तालाई जोखिम हुन सक्ने भनेर पनि आलोचना हुने गरेको छ।
महोत्सवका संयोजक अर्यालले सकेसम्म कम ध्वनी निस्कने गरी गतिविधि गर्ने बताए। मानव र वन्यजन्तुको सह–अस्थित्वलाई कायम गर्दै महोत्सव सञ्चालन गर्ने उनले बताए।
महोत्सव सुरू हुनुपूर्व सौराहामा शोभायात्रा निकालिँदै छ।
क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले चितवनको पर्यटन विकासका लागि सौराहामा हात्ती तथा पर्यटन महोत्सव जैविक विविधतामा आधारित पर्यटन विकासका लागि महोत्सव आयोजना गरिएको बताए।
महोत्सवमार्फत सौराहामा पर्यटकको उपस्थिति बढ्ने भएकाले अर्थतन्त्रमा पनि सहयोग पुग्ने थपलिया बताउँछन्।
महोत्सवको अवसर पारेर व्यवसायीहरुले १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरेको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए।
यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल महोत्सवका सह–आयोजक हुन्।
उपाध्यक्ष ओम पाण्डेले राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी गरिने जानकारी दिए।
सौराहामा वार्षिक तीन लाख ५० हजार पर्यटक आउने गरेको अनुमान छ।
चितवन निकुञ्ज अवलोकन गर्न आउने धेरै पर्यटक सौराहाबाट प्रवेश गर्छन्। क्षेत्री होटल संघका सचिव महेश खनालका अनुसार सौराहामा १३० वटा होटल र ९० बढी रेष्टुरेन्ट छन्।