दाङको घोराही उपमहानगरपालिकाले डाक्टर र इञ्जियिनर पढ्दै गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।
डाक्टर पढ्नेलाई छात्रवृत्तिवापत एक मुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्ने गरी घोराहीले सार्वजनिक सूचना आह्वान गरेको हो।
सामाजिक विकास महाशाखाका प्रमुख नारायणप्रशाद पौडेलले एक महिना भित्र निवेदन दिन विद्यार्थीलाई सार्वजनिक सूचना मार्फत आह्वान गरेका छन्।
त्यस्ता विद्यार्थीले पुस ८ गतेदेखि माघ ८ गतेसम्म सामाजिक बिकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिन भनिएको छ।
यो सुविधा पाउने विद्यार्थी घोराहीकै बासिन्दा र एसइई तथा प्लस टु सामुदायिक विद्यालयबाट गरेको हुनुपर्नेछ। साथै विद्यार्थीहरूले अरू कुनै छात्रवृत्ति प्राप्त नगरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ।
छात्रवृत्ति विद्यार्थीले प्राप्त गरेको जिपिएलाई प्रमुख आधार मानिने बताइएको छ। छात्रवृत्तिका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपी, विद्यालयमा भर्ना भएको रसिद वा परिचय पत्र र हाल अध्यनरत संस्थाको पत्र उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
घोराहीले पहिलो पटक डाक्टर र इञ्जिनियर पढिरहेका छात्रवृत्ति दिने भएपछि स्थानीय विद्यार्थी उत्साहित छन्।