अटो दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते छन्।
दुर्घटनाका घाइतेमध्ये राजपुर गाउँपालिका–३ भैंसहवाका ५० वर्षीय तुलाराम बिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो साढे ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए।
लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई घोराही ल्याइएको थियो।
दुर्घटनाका घाइतेमध्ये राजपुर–४ का ३६ वर्षीय प्रेमचन्द्र यादवलाई पनि थप उपचारका लागि घोराहीस्थित प्रतिष्ठानमा ल्याइएको छ।
अर्की घाइते राजपुर–३ भैंसहवाकी ४० वर्षीया बसन्ती विकको भने लमहीमै उपचार भइरहेको डिएसपी थापाले बताए।
गढवा–कोइलाबास सडकखण्ड अन्तर्गत गढवा गाउँपालिका–५ मा रा १ ह ५९०४ नम्बरको अटो रिक्सा दिउँसो १:५० बजेतिर कक्रहवास्थित मोडमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
उक्त अटो राजपुरबाट कोइलाबासतर्फ जाँदै थियो।
तीव्र गतिका कारण अटो घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका प्रहरीले गरेको छ। अटो चालक राजपुर–३ भैंसहवाका ४० वर्षीय मदन विक प्रहरी नियन्त्रणमा छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।