जिल्ला अदालत दाङले ६८ वर्षीय शंकर थापा घर परिवारकै सदस्य रहेको फैसला गरेको छ।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले गत कात्तिक १३ गते थापा घर परिवारकै सदस्य भएको पुष्टि हुने गरी फैसला गरेको अदालतका सूचना अधिकारी गोकर्ण वलीले सेतोपाटीलाई बताए।
तुलसीपुर उपमहानगरपालिका–४ बनहरीका शंकर विगत ४८ वर्षदेखि सम्पर्कविहीन थिए। तर, शंकरको नाममा करोड बढी मूल्यको पुर्ख्यौली जग्गा जमिन छँदै थियो। त्यही भएर शंकरकी छोरी तुलसीपुर–७ झमर्रेकी मणिकला महतराले २०७९ फागुन १४ गते दाङ जिल्ला अदालतमा बुवा शंकर थापा लामो समयदेखि सम्पर्कविहीन रहेको हुँदा ‘मृत्युको न्यायिक घोषणा गरी पाऊँ’ भन्दै निवेदन दिएकी थिइन्।
अदालतको फैसला भए बाबुको नामको जग्गा जमिन स्वत: छोरीको हक हुन्थ्यो। कुनै पनि व्यक्ति १२ वर्षभन्दा बढी समय परिवारको सम्पर्कविहीन रहेपछि स्थानीयको सर्जिमनका आधारमा अदालत बाट ‘मृत्युको न्यायिक घोषणा’ गर्न पाउने कानुनी व्यवस्थालाई टकेर छोरी मणिकलाले अदालतमा निवेदन दिएकी थिइन्।
तर, त्यो कुरा मणिकलाका काका नेप भनिने निपबहादुरलाई चित्त बुझेन। आफ्ना दाजु जिउँदै छन् भन्ने भाइ नेपबहादुरलाई थियो। अर्कोतर्फ हालसम्म पैत्तृक सम्पत्ति भएको हुँदा दाजु शंकर बेपत्ता भए पनि सबै जग्गा जमिन निपबहादुरले नै एकलौटी भोगचलन गर्दै आइरहेका थिए। आफूले भोगचलन गर्दै आएको जग्गा जमिन सकभर फुत्किन नदिने दाउमा निपबहादुर हुने नै भए।
त्यसको एक महिनापछि २०८० वैशाख ५ गते निपबहादुरले स्थानीयवासीको बयान र सर्जमिनको मुचुल्का गलत रहेको दाबी गर्दै अदालतमा जालसाजी मुद्दा दायर गरेका थिए। त्यसका विरूद्ध मणिकला गत असार ३ गते फिराद लिएर अदालत पुगेकी थिइन्। उनले काका निपबहादुर थापा र कार्यवाहक वडाध्यक्ष नारायणी पुनलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेकी थिइन्। त्यसमा उनले बेपत्ता भनिएका आफ्ना बुवा शंकर थापाको परिचय खुल्ने कुनै कागजात वा प्रमाण पेस नगरी अर्को व्यक्तिलाई (नक्कली ब्यक्ति खडा गरि) शंकर थापा हो भन्ने नाता प्रमाणितको कागज गराई पेस गरेको हुँदा त्यो नाता प्रमाणितको कागज जालसाजी हो भन्ने जाहेरी दिएकी थिइन्। त्यसको विरूद्ध काका निपबहादुर र कार्यवाहक वडाध्यक्ष असार १४ र १६ गते अदालतमा गई जबाफ दिएका थिए।
यी दुबै मुद्दामा जिल्ला अदालतले शंकरकी छोरी मणिकला र शंकरका भाइ निपबहादुर दुबैको दाबी नपुग्ने फैसला गरेको छ।
भाइ निपबहादुरले दाजु शंकर ज्युँदै रहेको भन्दै अदालतमा मुद्दा हालेको एक वर्षपछि गत जेठ २० गते शंकरलाई आफै खोजेर ल्याई जिल्ला अदालत, दाङमा उपस्थित गराएका थिए। दाजु शंकरलाई भारतको नागाल्यान्डमा फेला पारी ल्याएको भाइ निपबहादुरले यसअघि सेतोपाटीलाई बताएका थिए। शंकर अदालतमा उपस्थित भई बयान गरेको हुँदा वडाको सिफारिस जालसाज नठहर्ने फैसला अदालतले गरेको छ। त्यसलाई अदालतले न्यायिक प्रक्रिया अन्तगतकै कार्य वा सिफारिस भनिदिएको छ। शंकर स्वयमं वडा कार्यालयमा गएको हुँदा वडाले त्यस्तो सिफारिस दिनुलाई स्वाभाविक भएको अदालतको निष्कर्ष छ।
मणिकलाको मुद्दापछि शंकरलाई उपस्थित गराउन अदालतले भन्दै आएको थियो। अदालतमा आफै उपस्थित भई बयान दिँदा शंकरले आफू २०३५ सालदेखि इण्डिया बस्दै आएको, घर जम गरी उतै बस्दै आएको, नेपालमा बस्ने घर परिवारसँग कुनै सम्पर्क नगरेको, सानै उमेरमा गएको हुँदा नागरिकता पनि उतिखेर बनिनसकेको भन्ने बयान गरेको हुँदा अदालतले त्यसैलाई आधार मानेर उनी थापा परिवारकै सदस्य रहेको पुष्टि हुने गरी फैसला सुनाएको देखिन्छ।
अदालतले शंकर थापा परिवारकै सदस्य भएको पुष्टि हुने गरि फैसला गरे पनि उनको नाममा रहेको जग्गा जमिनबारे आधिकारिक कागजपत्र भने फेला पर्न नसकेको स्रोत बताउँछ।
सम्पर्कविहीन रहेको ४८ वर्षपछि आफ्नो दाजु फेला परेको भन्दै निपबहादुरले नागाल्याण्डबाट खोजेर शंकरलाई अदालतमा उपस्थित गराएको केही दिनमा फेरि उनी नागाल्याण्ड नै फर्किएका थिए।
यी पनि:
बावुको मृत्यु प्रमाणित गर्न छोरी अदालत पुगेपछि...
४८ वर्षपछि भेटिएको दाइ भारत फर्किए, भाइलाई प्रहरीले लियो नियन्त्रणमा