सिरियाका तानाशाह बसर अल-असदकी श्रीमती आस्मा अल-असदले सम्बन्धविच्छेद गरेर लन्डन फर्किने समाचारको रूसले खण्डन गरेको छ।
सेनामा रहेका आफ्नै भाइलाई समेत नभनी बसर डिसेम्बर १० मा सुटुक्क देश छाडेर रूस भागेका थिए।
द न्यु योर्क टाइम्सका अनुसार नोभेम्बरको अन्त्यतिर मस्कोमा विद्यावारिधि गरिरहेका उनका जेठा छोरा हफिज अल-असदको नोभेम्बरको अन्त्यतिर भएको ‘थेसिस डिफेन्स’का लागि बसरको परिवार रूसमै थिए। त्यतिबेला सिरियामा विद्रोहीले लगातार सफलता हासिल गरेकाले आस्मा लगायत अरू परिवार सदस्य रूसमै बसेका थिए।
सिरियामा विद्रोहीको बरबर दमन गरेका बसर र उनका आफन्तले विगत केही वर्षमा दशौं करोड डलर रूस लगेर लगानी गरेका थिए। असद परिवारको रूसमा रहेको सम्पत्ति रूसी सरकारले रोक्का गरेको र आस्माले पतिसँग सम्बन्धविच्छेद गरेर लण्डनमा रहेको माइती फर्कन लागेको भनेर टर्कीका मिडियामा पछिल्ला दिनमा समाचार आएका थिए।
तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले त्यसको खण्डन गर्दै ती समाचार सत्य नभएको बताएका छन्।
रूस सरकारले बसर भागेर मस्को गएपछि असद परिवारको कुनै पनि तस्विर सार्वजनिक गरेको छैन। साथै सुरक्षा कारण परिवार सदस्यलाई समेत धेरै ठाउँ जान बन्देज रहेको बताइन्छ। त्यस्तो बन्देजका कारण आजित भएर गत मे महिनामा रगतको क्यान्सर लागेकी आस्माले सम्बन्धविच्छेद गरेर लण्डन फर्किन लागेको भन्ने समाचारहरू आएका थिए।
आस्माको जन्म सन् १९७५ मा लण्डनमा बस्ने सिरियाली परिवारमा भएको थियो। उनले किङ्ग्स कलेज लण्डनबाट सन् १९९६ मा कम्प्युटर विज्ञान र फ्रेन्च साहित्यमा स्नातक गरेकी थिइन्। त्यसभन्दा अघि नै लन्डनमा आँखाको डाक्टर बन्न रेसिडेन्सी गरिरहेका बसरसँग उनको भेट भएको थियो।
सन् १९९४ जनवरीमा बसरका दाजु र असद वंशको उत्तराधिकारी बसिलको सवारी दुर्घटनामा मृत्यु भएपछि उनीहरूका पिता हफिज अल-असदले बसरलाई सिरिया फिर्ता बोलाएर उत्तराधिकारी बनाउने तयारी थालेका थिए।
सिरिया फर्किसकेका बसरसँग सन् २००० मा आस्माले विवाह गरेकी थिइन्। जेपी मोर्गनमा इन्भेस्टमेन्ट बैंकरका रूपमा काम गरिरहेकी आस्मा विवाहपछि जागिर छोडेर सिरियामै बस्न थालेकी थिइन्।
सिरियामा असद वंशको शासनको अन्त्य भएपछि उनले आफ्ना बुवा-आमालाई पनि रूसमा आफूसँगै बस्न आउन बोलाएको मानिन्छ। तर उनका बुवा-आमाले लण्डनमै बस्ने बताएका थिए।
बेलायती नागरिकता पनि भएकाले अहिले आस्मा रूसबाट फर्किएर लण्डन बस्ने समाचारहरू आएका हुन्। तर बेलायत सरकारले पहिले नै उनलाई बेलायत फर्कन नदिने बताइसकेको छ। बसर भागेर रूस पुगेपछि आस्मा बेलायत फर्किन पाउँछिन् कि पाउँदिनन् भनेर चर्चा चल्न थालेपछि बेलायती विदेश मन्त्री डेभिड ल्याम्मीले संसदमा बोल्दै आस्माविरूद्ध पनि प्रतिबन्ध लागेको भन्दै उनलाई बेलायत आउन नदिने स्पष्ट पारेका थिए।
सिरियाका तानाशाही राष्ट्रपति बसर कसैलाई पनि नभनी सुटुक्क देश छाडेर भागेको थिए।
बेलायती समाचार संस्था रोयटर्सका अनुसार बसरले सेनामा रहेका आफ्नै भाइलाई समेत नभनी डिसेम्बर १० मा देश छाडेर भागेका थिए। बसरका भाइ महेर अल-असद सिरियाली सेनाको शक्तिशाली विभागका प्रमुख थिए।
कसैलाई थाहा नदिई दाइ सुटुक्क रूस भागेको थाहा पाएपछि भाइ महेर पनि सेनाको हेलिकप्टर लिएर भागेका थिए। उनी आफै हेलिकप्टर उडाएर पहिले सिरियाको छिमेकी मुलुक इराक पुगे। त्यहाँबाट उनी पनि रूस गए।
पछि बसरका तर्फबाट सामाजिक संजाल टेलिग्राममा निकालिएको भनिएको विज्ञप्तिमा उनले रूसी सेनाको शिविरमा रहँदा विद्रोहीले लगातार ड्रोनले हमला गरेकाले आफू रूस भाग्न बाध्य भएको दाबी गरेका थिए।
बसर भाग्नु अगाडि नै श्रीमती र तीन छोराछोरी रूसमै थिए।
बसरले आफू भाग्ने कुरा कसैलाई नभनेका मात्र होइनन्, उनले आफ्ना सेना, प्रहरी, राष्ट्रपति कार्यालयका निकट कर्मचारी लगायत सबैलाई झुक्क्याएका पनि थिए।
भाग्ने दिनको साँझ उनले पत्रकार सम्मेलन गर्छु भनेर मिडिया सल्लाहकार बुथैना शाबनलाई भाषण लेख्न आफ्नो निवासमा बोलाएका थिए। जब शाबन बसर निवास पुगिन्, तब उनी त्यहाँ थिएनन्। राष्ट्रपति कार्यालयबाट निस्किनुअघि कार्यालयका मेनेजरलाई बसरले निवास नै जाने भनेका थिए।
बसरले यसरी झुक्क्याएपछि यसको सिकार उनका परिवारका अन्य सदस्य र आफन्तजन पनि भएका छन्। बसर भागेपछि उनीनिकट रहेर काम गरिरहेका उनका दुई मामाका छोराहरू इहब, इयद मखलुफ पनि ज्यान जोगाउन राजधानी दमास्कसबाट भागेका थिए।
सडक मार्ग हुँदै कारमा लेबनन भाग्न खोजेका उनीहरूलाई प्रदर्शनकारीले बाटैमा रोकेर आक्रमण गरे। सो आक्रमणमा इहबको मृत्यु भएको र इयद गम्भीर घाइते भएको जानकारी प्राप्त भए पनि आधिकारिक रूपमा पुष्टि गर्न नसकेको रोयटर्सले जनाएको छ।
बसरले आफू भाग्ने निधो त्यतिखेर गरेको देखिन्छ जब लामो समयदेखि उनलाई साथ दिँदै आएको रूसले सैनिक सहयोग दिन अस्वीकार गर्यो।
सन् १९७० को आखिरीमा हफिज अल असदले 'कू' गरेर सुरू गरेको असद वंशको एकतन्त्रीय शासन नोभेम्बर २७ मा सुरू भएको आक्रमणका कारण तासको महलसरि ११ दिनमै ढलेको थियो। विपक्षी लडाकूहरूले आक्रमण सुरू गरेको भोलिपल्टै नोभेम्बर २८ मा बसर सैन्य सहयोग माग्न र आफ्नो शासनसत्ता टिकाउन मस्को पुगेका थिए।
तर युक्रेनसँगको युद्धमा नराम्ररी फसेको रसियाले बसरलाई तत्काल सहयोग गर्न आफू असमर्थ रहेको बतायो।
मध्यपूर्वमा बसरको अर्को मित्र इरानले उनलाई सहयोग गर्ने सम्भावना यसै पनि थिएन। उनले इरानसँग सहयोग माग पनि नगरेको सञ्चार माध्यमहरूले जनाएका छन्।
इसराइलले इरान समर्थित हमास र हिजबुल्लाहमाथि पछिल्ला केही महिनायता व्यापक आक्रमण गरेर लगभग उनीहरूको ढाड भाँचेको छ। इसराइलले एकपटक इरानमाथि पनि आक्रमण गरिसकेको छ। इरानले बसरलाई सैन्य सहयोग पठाएको भए इसराइलले सिरिया र इरानमाथि पनि आक्रमण गर्न सक्थ्यो। त्यसैले बसरले इरानसँग सहयोग नै मागेनन्।
मस्कोबाट फर्किएपछि बसरले आफ्नो सेना र निकट सहयोगीहरूसँग रूसको सैन्य सहयोग आउँदैछ भनेर ढाँटेका थिए। जबकि रूसले उनलाई त्यस्तो कुनै सहयोग गर्ने छैन भन्ने उनले मस्कोमै थाहा पाइसकेका थिए। उनी मस्को पुगेका बेला विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर एलेप्पो कब्जा गरिसकेका थिए।
बसर मस्कोबाट फर्किएर आफू भाग्ने तारतम्य मिलाउन लागेका थिए भन्ने घटनाक्रमले देखाउँछन्। रूसले उनको शासन जोगाउन सहयोग नगरे पनि बसरलाई सुरक्षित देश छाडेर भाग्न भने भरमग्दुर प्रयास गरेको देखिन्छ।
त्यही योजना अनुरूपै उनले आफ्नो परिवार (श्रीमती र छोराछोरी) लाई मस्कोमै छोडेर आएका थिए। अनि डिसेम्बर ९ को मध्यराततिर विमानस्थल पुगेर सैनिक जहाजमा आफू पनि भागे।
ट्र्याक गर्ने उपकरण बन्द गरेर, कम उचाइमा उडाएर, राडार छल्दै उनी चढेको जहाज सिरियाको तटीय सहर लताकियामा रहेको रूसी वायुसेनाको अड्डामा गए। त्यहीँबाट उनी रूसी जेटमा चढेर मस्को गए।
बसरका प्रधानमन्त्री मोहम्मद जलालीले पनि बसरसँग अन्तिमपटक डिसेम्बर ९ को राति साढे १० बजे फोनमा कुरा भएको बताएका छन्। त्यसमा उनले बसरलाई स्थिति अत्यन्तै प्रतिकूल रहेको, सडकमा आतंक र भय रहेको ब्रिफिङ गरेका थिए।
जबाफमा बसरले 'भोलि हेरौंला' भनेका थिए। जलालीले बसरलाई भोलिपल्ट बिहानै सम्पर्क गर्न खोजे पनि कुरा नभएको बताएका थिए।
बसर सुरूमा संयुक्त अरब इमिरेट्स (युएई) जान चाहेका थिए। तर उनीमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले नाकाबन्दी लगाएका र आफ्नै जनतामाथि रसायनिक हतियार प्रयोग गरेको संगीन आरोप लागेका उनलाई शरण दिए अप्ठ्यारोमा पर्ने भएकाले युएईले मानेन।
बसरलाई सिरियाबाट सुरक्षित बाहिर जान दिन रूसले कतार र टर्कीसँग आग्रह गरेको पनि रोयटर्सले जनाएको छ। त्यस्तै रूसी हवाई अड्डाबाट उनलाई लिएर उडेको जहाज कसैले नरोकोस् भनेर छिमेकी देशहरूसँग पनि सहकार्य गरेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)