भारत उत्तर प्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईले मित्रता गाँसेर जमिनमुनिबाट सुन निकालिदिने प्रलोभनमा पारी दुई करोड ठगी गरेको खुलेको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनालाई मित्रताको आडमा प्रलोभनमा पारी हलवाईले जमिनमुनिबाट सुन निकालेर दिने भन्दै दुई करोड रकम ठगी गरेको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।
‘टुनामुना गरी जमिनमुनिबाट सुन निकालेर दिन्छु भन्ने प्रभावमा पारेर ठगी गरेको खुल्छ,’ एसपी कार्कीले भने ‘माटाको घैंटोहरूमा सिक्काहरू राखेर भ्रममा पारी जालझेल गरेको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’
यी सबै काम गर्नुभन्दा पहिला भारतीय नागरिक हलवाईले बेहेनासँग मित्रता गाँसेको जिल्ला प्रहरी प्रमुख कार्कीले बताए।
‘उनीहरू अत्यन्तै मिल्ने साथी भइसकेका रहेछन्,’ एसपी कार्कीले भने ‘पहिला साथी बनेर त्यसपछि योजनाबद्ध रूपमा विश्वासमा पारी ठगी गरेको खुल्छ।’
पीडितले पटक-पटक गरी आफूसँग दुई करोड नगद लगेको जाहेरी दिएकाले त्यसको प्रमाण संकलनको काम भइरहेको एसपी कार्कीले बताए ।
इँटाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालेर दिने प्रलोभनमा दुई करोड ठगी गरेको भन्दै बाँके नेपालगञ्जका बेहेनाले मंसिर १५ गते दिएको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय हलवाई पुस ५ गते बिहान नेपालगञ्ज वडा नम्बर ४ स्थित बसपार्कबाट पक्राउ परेका थिए।
पक्राउ परेका हलवाईलाई माथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रहरी हिरासतमा रहेका हलवाईको साथवाट प्रहरीले तीनवटा माटाको घैंटाहरू र तीभित्र धातुले बनेका सिक्का एक हजार ४९ वटा सिक्का, तीनवटा पित्तलको घैंटाहरू, धातुले बनेको पुरानो सिक्री, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकारका ६ सय पत्थरहरू, धातुका बट्टा तीनवटा, छालाको कालो रंगको झोलभित्र ताबिजसहितको बट्टा, उर्दू भाषामा लेखिएको एउटा किताब, भारतीय नम्बर प्लेट यूपी ३२ पिपी ६११० नम्बरको कार र नेपाल र भारतका विभिन्न बैंकका चेक तथा भौचरहरू बरामद गरेको थियो।
यो पनि: जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी