भक्तपुर बालकोटमा सोमबार यस्तो घटना भयो, जसले दिनभरि सनसनी मच्चाएको छ।
बालकोट फिकाधारामा एउटा साढे ३ तल्ले घर छ। त्यसको भुइँतलामा दुइटा कोठा छन्। ती दुवै कोठामा बाहिरबाट ताला लगाइएको थियो। कोठाका मान्छेहरू दुई दिनदेखि नदेखिएको र साइँसुइँ केही आवाज नआएपछि छरछिमेकीलाई शंका लाग्यो।
उनीहरूले सोमबार बिहानै प्रहरीलाई खबर गरे। बिहान पौने १० बजेतिर प्रहरी घटनास्थल पुग्यो। जसै उनीहरू कोठाको ताल्चा फोडेर भित्र छिरे, सबै जना चकित खाए। दुई दिनदेखि बन्द रहेको एउटा कोठामा प्रहरीले एउटा शव फेला पार्यो।
उनीहरूले तुरून्तै अर्को कोठाको ताल्चा फोडे र भित्र छिरे। त्यहाँ अर्को शव थियो।
यी शव खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रवीण आचार्यको हो। उनीहरू बाबुछोरा हुन्।
दुवै जना छुट्टाछुट्टै कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेका थिए। बाबु कुलप्रसादको शव घोप्टो अवस्थामा थियो। प्रहरीले दुवै शव परीक्षण गरेर हेर्दा उनीहरूको अनुहार रगताम्मे थियो। टाउकोमा चोट थियो।
यो घटनामा प्रहरीले अहिलेसम्म गरेको छानबिनबाट तीनवटा तथ्य बाहिर आएका छन्।
पहिलो तथ्य, यी दुई कोठामा दुई जना दाजुभाइ डेरा बस्थे - मिलन आचार्य र प्रवीण आचार्य।
आचार्य दाजुभाइ चार वर्षदेखि यहाँ बस्दै आएका थिए। उनीहरू पढाइकै लागि बसेको हुनुपर्ने प्रहरीको भनाइ छ। के काम गर्थे भन्ने खुलिसकेको छैन। तीमध्ये प्रवीणको शव फेला परेको छ भने मिलन बेपत्ता छन्।
दोस्रो, उनीहरूका बुबा कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख हुन्। उनी केही दिनअघि मात्र कामको सिलसिलामा भक्तपुर आइपुगेका थिए। उनकी श्रीमती खोटाङमै बस्छिन्।
तेस्रो, कुलप्रसाद र प्रवीणको हत्या शनिबार राति नै भएको हुनसक्ने जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपाने बताउँछन्। रगत पनि सुकिसकेको अवस्थामा भेटिएकाले शनिबार रातिकै घटना हुनुपर्ने उनको भनाइ छ।
प्रहरीले घटनास्थलबाट रगत लागेको सिलौटा पनि फेला पारेको छ। त्यही सिलौटाले प्रहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ।
यो घटना कसरी खुल्यो त?
सूर्यविनायक नगरपालिका वडा नम्बर २ को त्यो घरमा भुइँतलामै थप दुइटा कोठा छन्, जहाँ अर्को परिवार बस्छ।
उनीहरूले आचार्य परिवारका बाबुछोराहरू शनिबार राति खाना खाएको देखेका थिए। तर आइतबार बिहानै दुइटै कोठा बन्द थियो। आचार्य दाजुभाइ वा बुबाले कतै जाँदै छु भनेर कसैलाई जानकारी गराएका थिएनन्।
आइतबार पनि कोठा बन्द नै रह्यो।
त्यसपछि भने उनीहरूले शंका गरे। उनीहरूले सोमबार बिहानै प्रहरीलाई फोन गरे। प्रहरी वृत्त थिमी र प्रहरी परिसर भक्तपुरबाट टोली पुगेपछि यो हत्याकाण्ड खुल्यो।
प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर झिकाएको थियो। फरेन्सिक डाक्टरको टोली पनि झिकाएर घटनास्थलको मुचुल्का गरेको थियो। अहिले दुवै शवलाई पोस्टमर्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ।
यो घटनामा प्रहरीको पहिलो शंका मिलन आचार्यमाथि छ। उनी दुई दिनअघिसम्म यहीँ थिए। अहिले सम्पर्कविहीन छन्। यसले पनि उनीमाथि शंका गएको डिएसपी न्यौपाने बताउँछन्।
मृतकको परिवारका अन्य सदस्य भने सम्पर्कमा आइसकेका छैनन्। घटना के कारणले भएको हो वा कसले गरेको हो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ।