आपराधिक लाभ कसुरमा फरार रहेकी निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्।
आइतबार बिहान निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा हाजिर भएको अदालतका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए।
प्रहरी प्रभाग भैँसेपाटीको इन्चार्ज हुँदा हनी ट्र्यापमा पारेर रकम असुली गरेको अभियोग उनीमाथि लागेको थियो।
यस प्रकरणमा जिल्ला अदालत ललितपुरले ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
त्यस्तै प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा, सुस्मा विकलाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
निलम्बित शाही र अर्का एक जना पुरूष भने फरार नै रहेका थिए। त्यसमध्ये शाहीले अदालतमा उपस्थित भएर बयान दिन थालेकी हुन्।
उनले बयान दिएपछि पुर्पक्षको लागि थुनछेक बहस हुनेछ।
उनीहरूले मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो। यस घटनामा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समेत गरेको थियो। उक्त समितिले पनि प्रहरी निरीक्षक शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।
पछि थप अनुसन्धानका लागि यो मुद्दा केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको थियो।