'गुलियो धेरै नखाऊ, सुगर होला!'
यस्तो सुझाव हामीले धेरै सुन्दै आएका छौं।
यही मान्यताका कारण धेरैले मन मारेर भए पनि चकलेट लगायतका गुलिया खानेकुरा कम खान्छन्। वा, खाँदै खाँदैनन्।
तर ब्रिटिस मेडिकल एसोसिएसनले प्रकाशित गर्ने स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल 'बिएमजे' ले हालै एउटा नयाँ निष्कर्ष सार्वजनिक गरेको छ — डार्क चकलेट खानेहरूलाई 'टाइप-२' डाइबिटिज (सुगर) को खतरा कम हुन्छ!
अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले केही दिनअघि समाचार लेखेर बिएमजेमा प्रकाशित उक्त नयाँ निष्कर्षबारे जानकारी दिएको हो।
मान्छेको शरीरलाई गुलियो, नुनिलो, चिल्लो, पिरो; सबै किसिमका स्वादयुक्त खानेकुराको बराबर आवश्यकता हुन्छ। यस्ता खानेकुरा सुरूदेखि सीमाभित्र रहेर खायौं भने स्वास्थ्यलाई कुनै असर गर्दैन भनेर डाक्टरहरू नै स्वीकार गर्छन्। डार्क चकलेटका हकमा भने यो खानेकुरा गुलियो र स्वादिलो भए पनि यसमा पाइने केही तत्त्वले सुगर रोग लाग्न दिँदैन भन्ने मेडिकल जर्नल बिएमजेको निष्कर्ष छ।
केही व्यक्तिहरूको समूहलाई लामो समय डार्क चकलेट खुवाएर गरिएको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालिएको हो। तर ती व्यक्तिलाई सुगर नहुनुमा डार्क चकलेट नै एकमात्र कारण थियो वा अरू कुनै कारणले सुगरको जोखिम कम भएको हो भन्ने अनुसन्धानले प्रमाणित गरेको छैन।
प्रमुख अनुसन्धाता तथा हार्वर्ड विश्वविद्यालयका सहायक प्राध्यापक डा. छि सुन आफै पनि डार्क चकलेटलाई सुगर रोकथाम गर्ने 'अचुक औषधि' मान्न हुँदैन भन्छन्।
तर जहाँसम्म डा. सुनको समूहले गरेको अनुसन्धानको निष्कर्ष छ, त्यसले भने डार्क चकलेट खाने व्यक्तिहरूलाई स्वास्थ्यसम्बन्धी समस्या कम भएको देखाउँछ। खासगरी उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र सुगरलाई डार्क चकलेटले फाइदा पुर्याएको अनुसन्धानबाट देखिएको छ।
त्यसैले डा. सुन भन्छन्, 'डार्क चकलेटलाई हामी स्वस्थ खानेकुराका रूपमा लिन सक्छौं।'
यो अनुसन्धान कसरी गरिएको थियो त?
अनुसन्धाताहरूले सन् १९८० दशकको मध्यदेखि १९९० दशकको प्रारम्भसम्म १ लाख ९० हजार जना व्यक्तिमा यो अनुसन्धान गरेका थिए। उनीहरूलाई तीन समूहमा बाँडिएको थियो।
सहभागीहरूले हरेक चार वर्षमा आफ्नो नियमित खानेकुराबारे विस्तृत प्रश्नावली भर्नुपर्थ्यो। यस आधारमा उनीहरूले डार्क चकलेट र दूधको चकलेट कति मात्रामा खान्छन् भनेर रेकर्ड राखिन्थ्यो।
अनुसन्धाताहरूले ती सहभागीको स्वास्थ्य ३४ वर्षसम्म लगातार परीक्षण गरिरहे। यस अवधिमा करिब १९ हजार जनालाई टाइप-२ डाइबिटिज भएको पत्ता लाग्यो। त्यसपछि अनुसन्धाताहरूले डाइबिटिज बिरामीको जीवनशैलीका अन्य पक्ष पनि अध्ययन गरे। उनीहरूले शारीरिक व्यायाम गर्छन् कि गर्दैनन्, रक्सी खान्छन् कि खाँदैनन्, धूमपानको लत छ कि छैन र उनीहरूको खान्की स्वस्थ र पोषणयुक्त छ कि छैन भनेर हेरियो।
त्यसबाहेक सहभागीहरूको उमेर र परिवारमा अरू कसैलाई सुगर छ कि छैन भन्ने रेकर्ड पनि राखियो।
सबै रेकर्ड केलाएपछि अनुसन्धाताहरू के निष्कर्षमा पुगे भने — जसले साताको कम्तिमा पाँचपटक चकलेट (डार्क वा अन्य) खान्छन्, उनीहरूलाई चकलेट खाँदै नखाने वा कहिलेकाहीँ मात्र खाने व्यक्तिभन्दा टाइप-२ डाइबिटिजको जोखिम १० प्रतिशत कम हुन्छ।
त्यसपछि अनुसन्धाताहरूले आफूसँग भएका रेकर्ड अझै मसिनो गरी केलाए।
सहभागीहरूमध्ये करिब १ लाख १२ हजार जनाले आफूले खाने चकलेटबारे विस्तृत विवरण दिएका थिए। त्यो विवरण केलाएपछि जे निष्कर्ष निस्कियो, त्यसबाट अनुसन्धाताहरू झन् चकित खाए।
उनीहरूको निष्कर्ष थियो — जसले साताको कम्तिमा पाँचपटक डार्क चकलेट खान्छन्, उनीहरूमा महिनाको एकचोटिभन्दा कम डार्क चकलेट खाने व्यक्तिभन्दा टाइप-२ डाइबिटिजको जोखिम २१ प्रतिशत कम हुन्छ।
अनुसन्धानले यो पनि देखायो — जो दूधको चकलेट नियमित खान्छन्, उनीहरू टाइप-२ डाइबिटिजको जोखिमबाट बच्न सक्दैनन्।
'दूधको चकलेटले सहभागीहरूको तौल बढेको पाइयो,' अनुसन्धाताहरूको निष्कर्ष थियो, 'बढी तौल हुनेमा टाइप-२ डाइबिटिजको जोखिम बढी हुन्छ।'
यो अनुसन्धान आफैमा पूर्ण भने छैन। यसमा थुप्रै कमी-कमजोरी छन्।
अनुसन्धान ठूलो संख्यामा गरिएको र एकदमै वैज्ञानिक ढंगले डिजाइन गरिएको भए पनि यसले टाइप-२ डाइबिटिज हुनु वा नहुनुको वास्तविक कारण पुष्टि नगर्ने ड्युक युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक डा. सुजान स्प्राट बताउँछिन्। उनी व्यक्तिगत रूपमा यो अनुसन्धानमा संलग्न थिइनन्।
'जसले साताको कम्तिमा पाँचपटक डार्क चकलेट खान्थे, उनीहरूलाई सुगर नहुनुमा अरू नै कारण पनि हुनसक्छ। स्वस्थ जीवनशैली अपनाएकाले, नियमित शारीरिक व्यायाम गरेकाले, स्वस्थ खाना खाएकाले वा आवश्यक पर्दा डाक्टरको परामर्श लिएकाले पनि उनीहरूलाई सुगर नभएको हुनसक्छ,' डा. सुजानले भनिन्।
त्यस्तै, अधिकांश सहभागी गोरा जातिका शिक्षित व्यक्तिहरू हुनु यो अनुसन्धानको अर्को कमजोरी हो। यसले अनुसन्धानको निष्कर्ष सबै जाति वा समुदायमा बराबर लागू नहुने प्रमुख अनुसन्धाता डा. सुनले स्वीकार गरेका छन्।
अनुसन्धानको निष्कर्षलाई अझ धेरै सहभागीहरूमाझ क्लिनिकल परीक्षण गराउनुपर्ने आवश्यकता पनि उनले औंल्याए। यसका लागि सहभागीहरूलाई दुई समूहमा बाँडेर एउटा समूहलाई डार्क चकलेट र अर्कोलाई दूधको चकलेट खुवाउनुपर्ने र दशकौंसम्म स्वास्थ्य परीक्षण गर्दै जानुपर्ने डा. सुनको भनाइ छ।
'यस किसिमको क्लिनिकल परीक्षण एकदमै महँगो हुन्छ। एउटै व्यक्तिलाई दशकौंसम्म स्वास्थ्य परीक्षण गर्नु व्यावहारिक हुँदैन,' डा. सुजानले भनिन्।
त्यसैले पोषण वैज्ञानिकहरू कुनै पनि खानेकुराले स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान गर्न निश्चित समयको तथ्यांक मात्र केलाउँछन्। यो अनुसन्धान पनि त्यसरी नै गरिएको हो।
अनुसन्धानको निष्कर्षले अरू के भन्छ त?
अनुसन्धानअनुसार डार्क चकलेट र दूधको चकलेटमा क्यालोरी, चिनी र चिल्लो पदार्थको मात्रा बराबर हुन्छ। कोको भने डार्क चकलेटमा बढी पाइएको छ। कोको धेरै भएकाले नै डार्क चकलेट अरू किसिमका चकलेटभन्दा स्वस्थकर हुने डा. सुन र उनको समूहको भनाइ छ।
कोको यस्तो पदार्थ हो, जसमा फाइबर धेरै हुन्छ। यसमा 'फ्लेभोनोइड' भनिने वनस्पतिजन्य पदार्थ पनि भरपुर हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
केही अन्य अनुसन्धानले पनि कोको र फ्लेभोनोइडमा 'एन्टि-अक्सिडेन्ट' र 'एन्टि-इन्फ्लेमेटरी' तत्त्व धेरै भएकाले रक्तनलीहरू खोल्न मद्दत गर्ने निष्कर्ष निकालेका छन्।
केही अल्पकालीन र छोटो अवधिका क्लिनिकल परीक्षणहरूबाट डार्क चकलेट वा कोको खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पाइएको छ। यसले रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ। रक्तनलीमा बोसो जम्ने समस्या घटाउँछ। साथै, रगतमा हुने चिनीको मात्रालाई स्थिर राख्छ।
यी सबै कारणले टाइप-२ डाइबिटिजको जोखिम कम हुने अनुसन्धाताहरूको भनाइ छ।
अन्य पोषण वैज्ञानिकहरू पनि डार्क चकलेटलाई स्वस्थ खानाकै रूपमा लिन्छन्। तर यसका लागि डार्क चकलेटमा कम्तिमा ७० प्रतिशत कोको हुनुपर्छ। त्यसबाहेक बदाम मिसिएको छ भने अझ बढी स्वस्थकर मानिन्छ। किनभने, बदाममा स्वस्थ चिल्लो पदार्थ र फाइबर प्रचुर मात्रामा पाइन्छ। यसलाई पोषणयुक्त आहारकै रूपमा लिने गरिन्छ।
सन् २०२३ मा प्रकाशित एक अध्ययनअनुसार विश्वव्यापी रूपमा वार्षिक १ करोड ४० लाखलाई टाइप-२ डाइबिटिज हुने गरेको पाइएको छ। यसको मुख्य कारण पोषणयुक्त खानेकुराको अभाव हो भन्ने अध्ययनको निचोड छ।
उक्त अध्ययनले पनि चिनी र प्रशोधित कार्बोहाइड्रेटको मात्रा घटाउँदा स्वास्थ्यलाई फाइदा पुग्ने देखाउँछ। सँगसँगै, डार्क चकलेटलाई नियमित खान्कीमा समावेश गर्नु ठिक हो भन्छ।
'धेरैलाई स्वस्थ र पोषणयुक्त खानेकुरा भनेको प्राय: नमीठो हुन्छ भन्ने भ्रम छ,' २०२३ को उक्त अनुसन्धानका प्रमुख अनुसन्धाता डा. मोजोफारिन भन्छन्, 'तर केही स्वस्थ खानेकुरा स्वादमा पनि मिठो हुन्छ।'
'डार्क चकलेट यसैको एउटा राम्रो उदाहरण हो,' उनले भने।
***