डा.सुवास आचार्य भर्खरै मेडिकल अफिसर भएर काठमाडौं मेडिकल कलेजमा काम गर्दै थिए। त्यो बेला आशा मारिसकेका एक बिरामी बाँच्न सफल भए। ती बिरामी विष सेवन गरेर अस्पताल ल्याइएका थिए। ३०/३५ दिनसम्म आइसियुमा राखेपछि ती व्यक्ति घर फर्किए।
'उहाँलाई हामीले आश मारिसकेका थियौं। तर उहाँ बाँचेर घर फर्किनुभयो,' उनले भने,'त्यसपछि मलाई लाग्यो कि मेहनत गर्यो र राम्रो हेरचाह गर्यो भने एकदम सिकिस्त बिरामीहरू पनि बाँच्न सक्ने रहेछन् भन्ने लागेको हो। त्यसपछि मेरो इच्छा क्रिटिकल केयरमा गएको हो।'
सन् २००४ मा काठमाडौं मेडिकल कलेजमा कार्यरत तिनै सुवास आचार्य अहिले त्रिवि शिक्षण अस्पतालको प्राध्यापक तथा क्रिटिकल केयर विभाग प्रमुख छन्।
उनी त्यो घटनालाई आफ्नो करिअरकै टर्निङ प्वाइन्ट मान्छन्। त्यो भन्दा पहिला आफूलाई इन्टरनल मेडिसिन पढ्ने रहर भएको डा. सुवासले सेतोपाटीलाई बताए।
सन् २००४ मा उनले त्रिवि शिक्षण अस्पतालबाट एनेस्थेसियामा एमडीको पढाइ सुरू गरे। त्यो बेला अर्को घटना भयो। जुन घटनाले उनलाई अब जसरी पनि क्रिटिकल केयर पढ्छु भनेर अठोट लिने बनायो।
'मेरो नाम २३ नम्बरमा निस्किएकाले मैले एमडी एनेस्थेसिया पढेको हो। त्रिवि शिक्षण अस्पतालमै रेजिडेन्सी गर्दा छारे रोग लागेका १८/१९ वर्षको बिरामी आइसियुमा भर्ना हुनुभएको थियो। उहाँ लगभग ३ महिना आइसियुमा बस्नुभयो,' उनले भने, 'भेन्टिलेटरमै रहँदा उहाँलाई पटक/पटक संक्रमण भयो भने तीन/चार पटक त मुटु चल्न बन्द भएर हामीले सिपिआर गरेर बचाएको हो। त्यस्तो बिरामीलाई समेत डिस्चार्ज गरेर पठाउन पाउँदा मलाई क्रिटिकल केयरप्रति मेरो लगाव अझै बढेको हो।'
डिस्चार्ज भएर केही समयपछि आफ्ना बुवासँगै ती बिरामी हिँडेरै आइसियुमा भेट्न आएको उनलाई अझै पनि झलझली याद आइरहन्छ।
जब उनले २००७ मा एनेस्थेसियामा एमडी सके त्यसपछि क्रिटिकल केयरका लागि कहाँ पढ्न पाइन्छ भनेर खोज्न थाले। त्यो बेला नेपालमा यसको पढाइ हुन्थेन।
सन् २०११ मा बल्ल उनले क्यानडामा गएर क्रिटिकल केयरको एक वर्षको फेलोसिप गर्न पाए। त्यो बेलामा डा.रविराम श्रेष्ठले भारतमा क्रिटिकल केयर पढिरहेका थिए। उनी अहिले वीर अस्पतालमा कार्यरत छन्। उनले जतिबेला क्यानडामा क्रिटिकल केयरको पढाइ सुरू गरे त्यो बेलासम्म नेपालमा यसको विज्ञ कोही पनि थिएनन्। त्यसो त विश्वमै यसको विशेषज्ञता सेवा सुरू भएको सन् १९९२/०९३ तिर हो।
'आइसियुमा छुट्टै विशेषज्ञले हेर्यो भने त्यसको नतिजा राम्रो हुन्छ भन्ने त्यो बेलादेखि स्थापित भएको हो। त्यसको १०/१५ वर्षपछि नेपालमा सुरू हुनु भनेको धेरै ढिलो पनि होइन,' उनले भने, 'म पढेर आएपछि अरू साथीहरू पनि पढ्न जानुभएको हो। सन् २०१३ देखि त हामीले त्रिवि शिक्षण अस्पतालमै यसको पढाइ सुरू गर्यौं।'
अहिले नेपालमै आइसियुको सेवा विस्तार सन्तोषजनक रहेको उनको दाबी छ। विशेष गरेर इन्टरनल मेडिसिन र एनेस्थेसियामा एमडी गरेकाहरूले क्रिटिकल केयर पढेका हुन्छन्।
'नामै क्रिटिकल भएपछि यसबारे थप व्याख्या गर्नै पर्दैन। सिकिस्त बिरामीलाई उपचार गर्ने ठाउँ भएकाले यो थप संवेदनशील हुनु स्वाभाविक हो,' उनले भने, 'बिरामीलाई आइसियुमा लगेपछि कतिले बिरामीको गम्भीरता बुझ्छन्। तर कतिपयले अब हाम्रो बिरामी बाँच्दैन बरू निकाल्दिनु भन्छन्।'
कति बिरामीका आफन्तलाई त भेन्टिलेटरमा जाँदैमा बिरामीको मृत्यु हुन्छ भन्ने हुँदैन त्यसैले नआत्तिनुस् केही दिन पर्खिनुस् भनेर सम्झाउनुपर्छ। आइसियुमा राखेका ७० प्रतिशत बिरामी निको भएर फर्किने डा. सुवासले बताए। कहिलेकाहीँ भने बिरामीको उमेर अनि संवेदनशीलताको ख्याल गर्नुपर्ने भए पनि बिरामीका आफन्तलाई यसबारे बुझाउन गाह्रो भएको उनको अनुभव छ।
'बिरामीको रोगको आधारमा बिरामी बाँच्ने/नबाँच्ने भन्ने हुन्छ। कतिपय बिरामीका आफन्तले मृत्यु भन्ने बुझ्नै चाहनुहुन्न,' उनले भने, '९५ वर्षको मान्छेलाई क्यान्सर फैलिएको छ अथवा ब्रेनमा रक्तस्राव भइरहेको छ भने त्यस्तो मान्छेलाई उपचारका नाममा थप पिडा दिने कि नदिने भन्ने हुन्छ।'
मेरो बुवा हो अथवा अरू नाता भनेर सबै कुरा गर्दिनु भेन्टिलेटरमा पनि हाल्दिनुस्,डायलासिस पनि गर्दिनुस् भन्ने गरेको भन्दै उनले चिकित्सा विज्ञानले दिएको उपचार पद्धतिबारे बुझाउन कठिन हुने बताए।
'बिरामीलाई बचाउन वा उसको गुणस्तरीय जीवनलाई राम्रो बनाउन कोसिस गर्ने हो। कतिबेला हामीले बचाउनै सक्दैनौं भने कतिबेला बचाएर पनि गुणस्तरीय जीवन हुँदैन,' उनले भने,'त्यस्तो हो भने हामीले बिरामीको मान्छेलाई भन्नुपर्छ कि यो बिरामीलाई हामीले बचाउन सक्छौ तर गुणस्तरीय जीवन नहुन सक्छ है।'
बिरामीको उमेर पनि धेरै भएको छ भने त्यस्ता बिरामीलाई सहयोगी खालका उपचार मात्र गराउन पर्ने भन्दै उनले त्यही कुरा बिरामीका आफन्तलाई बुझाउन धेरै गाह्रो हुने बताए।
उनका अनुसार कहिलेकाहीँ एकपछि अर्को जटिलता थपिँदै गयो भने बिरामीको उपचारमा पनि गाह्रो हुन्छ। निमोनिया या अन्य संक्रमणले गर्दा भेन्टिलेटरमा रहेको बिरामीको एकपछि अर्को अंग फेल हुँदै जाँदा बचाउन गाह्रो हुन्छ। त्यही भएर बिरामीको अवस्था कस्तो छ, कति अंगले काम गरिरहेका छन् भन्ने आधारमा मात्र यो बिरामी कस्तो हुन्छ भनेर भन्न सकिने उनको अनुभव छ।
अपरेसन गरेका बिरामीहरूलाई भने आइसियूमा राखेपछि क्रमश: ठिक हुँदै जाने र अन्य जटिलता पनि आउने सम्भावना निकै कम हुने उनले बताए। त्रिवि शिक्षण अस्पतालमा ल्याइएका बिरामीमा जटिलता देखिनुको अर्को कारण अन्यत्रबाट रिफर भएर आउँदा समेत हो।
'बिरामी भएर अन्यत्रै उपचार गरेको हुन्छ। धेरै दिनसम्म डाक्टरकहाँ गएन भाइरल निमोनिया, फ्लु लगायतका समस्या छन् भने त्यस्ता बिरामीको उपचार सही तरिकाले जान सक्दैन,' उनले भने।
क्रिटिकल केयर चाहिने बिरामीको उपचार गर्दा अर्को समस्या आउने भनेको अनावश्यक रूपमा भेट्न आउनेहरूका कारण पनि हो।
परिवार भित्रका मान्छेले मात्र भेट्न आउँदा समस्या नभए पनि चिनजानका सबैले भेट्न खोज्दा समस्या हुने उनले बताए। अर्को कुरा आइसियुमा बिरामी भेट्न आउदा सरसफाइलाई ध्यान नदिने समस्या समेत देखिन्छ।
'बिरामीलाई छुने, बिरामीको बेडमा हात राख्ने, बिरामीको वरिपरि गएर समाउने जस्ता कारणले भेटघाटमा कडाइ गर्नुपर्ने हुन्छ,' उनले भने, 'आइसोलेसनको मापदण्ड पूरा गर्न सक्ने हुनुहुन्छ भने भेट्नु ठूलो कुरा होइन। तर वडा अध्यक्षदेखि सांसदसम्म भेट्न आउँदा कहिलेकाहीँ काम गर्नै समस्या हुन्छ।'
उनका अनुसार हरेक पटक बिरामीको मान्छे भेट्न आउने अनि डाक्टर, सिस्टर मेरो बिरामी के भयो, कस्तो छ भन्ने गर्दा उपचारको तालिका नै गडबड हुन्छ। बिरामीको अवस्थाबारे बताउन एउटा व्यक्ति नै खटाउन सरकारी अस्पतालमा सम्भव हुँदैन। आइसियुमा कतिपय अवस्थामा नर्सले नपुगेर क्लर्क खटाउनु पर्ने हाम्रा अस्पतालमा पश्चिमा देश र निजी अस्पतालमा जस्तो सुविधा दिन गाह्रो हुन्छ।
सामान्यत,आइसियुमा रहेका बिरामीलाई खानाको व्यवस्था अस्पतालमै गरिन्छ। कहिलेकाहीँ बिरामीको अवस्था हेरेर केही तयारी अनि घरमै बनाएको खाना खुवाउन सकिने उनले बताए।
'बिरामीको लागि कुनै खालका खाना ल्याउनुको साटो बिरामीका आफन्तलाई आर्थिक सहयोग गर्नु राम्रो हो। किनकि नेपालमा आइसियुको खर्च धान्न धेरैलाई गाह्रो हुन्छ,' उनले भने, 'सरकारी अस्पतालमा पनि दैनिक ३०/४० हजार खर्च हुन्छ। महँगा औषधी र एन्टिबायोटिक चाहिने भएकाले बिरामीको लागि आर्थिक सहयोगले ठूलो अर्थ राख्छ।'
सबै चिकित्सक आफ्नो बिरामी बचाउन नसक्दा दुःखी र मर्माहित हुने भन्दै आचार्यले बिरामीका आफन्तलाई बिरामीको जटिलताबारे पटक/पटक जानकारी गराइने बताए।
बिरामीका लागि मैले गर्न सक्ने केही बाँकी राखिनँ भन्ने चिकित्सकलाई लागेको छ भने पछुताएर मात्र केही नहुने उनको बुझाइ छ।
'अलिकति बिरामी ठिक छैन भनेर हात चाँडो उठाउनु हुँदैन। आइसियु भनेकै सिकिस्त बिरामीको उपचार गर्ने ठाँउ हो,' उनले भने, 'त्यहाँ बसेर हात उठाउने होइन कि जबसम्म आश हुन्छ तबसम्म उपचार गरिराख्ने हो।'
सन् २०१२ मा क्रिटिकल केयर पढेर नेपाल आएपछि नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन नामक संस्थालाई अझै सक्रिय बनाउन आचार्यको महत्वपूर्ण भूमिका रह्यो। सन् २०१३ मा रोयल कलेजसँग इन्स्टिच्युट अफ मेडिसिन (त्रिवि शिक्षण अस्पताल) को सहकार्य भयो। जुन कलेजमा उनी आफैले फेलोसिप गरेका थिए।
'सन् २०१३ देखि क्रिटिकल केयरमा डिएम पढाउन थालेकाले २०१६ बाट पहिलो ब्याज निस्कियो। त्यसपछि हाम्रो कार्यक्रम अलि फराकिलो भएर गयो। क्यानडाबाट १५ जनाले फेलोसिप गरेर आइसकेका छन्,' उनले भने,' क्रिटिकल केयरमा डाक्टर मात्र भएर हुँदैन। त्यसैले हामीले नर्सिङ ट्रेनिङ दिन सुरू गर्यौं।'
जबसम्म आइसियुमा बस्ने नर्स जिम्मेवार हुँदैन तबसम्म बिरामीको सुधार हुन गाह्रो हुने उनको तर्क छ। नर्सहरूलाई क्रिटिकल केयरको तालिम दिने गरी सन् २०१२ मा नेपाल क्रिटिकल डेभलपमेन्ट फाउण्डेसनको स्थापना भयो। त्यो भन्दा अगाडि आइसियुका लागि नर्सको ट्रेनिङ दिने चलन थिएन।
'जसरी एउटा बिरामीको उपचारमा डाक्टरको जिम्मेवारी हुन्छ, त्यसैगरी नर्सको पनि हुन्छ। नर्सले बिरामीप्रति अपनत्व लिनुपर्छ भनेर आधारभूत ट्रेनिङ सुरू गर्यौं,' उनले भने, 'सन् २०१६ मा क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल भनेर बन्यो। अहिले उहाँहरूले क्रिटिकल केयर नर्सिङको कोर्सहरू चलाउनुहुन्छ। जसले गर्दा नर्सिङमा पनि राम्रो टिम बनेको छ।'
आइसियुमा उपचारको लागि डाक्टर र नर्सले मात्र पुग्दैन। बिरामीलाई उठाउने, बसाउने, हिँडाउने, डुलाउने लगायतका सबै जिम्मेवारी फिजियोथेरापिष्टको हो। तर त्रिवि शिक्षण अस्पतालको आइसियुका लागि मात्रै भनेर फिजियोथेरापिष्टको व्यवस्था छैन। ४/५ वर्षदेखि नै फिजियोथेरापिष्टको माग गरे पनि पाउन नसकेको उनले बताए।
त्यस्तै, आइसियुमा पोषणविदको समेत जरूरी पर्छ। बिरामीलाई कति खुवाउने, के खुवाउने, कस्तो खाना खुवाउने, कति क्यालरी लगायतका सबै निर्णय लिने पोषणविदले हो। तर पोषणविदको समेत व्यवस्था नहुँदा समस्या परेको उनले बताए। औषधीको मात्रा मिलाउन क्लिनिकल फार्मेसिस्ट चाहिने भए पनि त्यसको समेत व्यवस्था छैन।
कतिपय दुर्घटनाले सुधारको मौका पनि दिएको हुन्छ। कोभिड १९ त्रिवि शिक्षण अस्पतालको लागि त्यस्तै बनेको छ। कोभिडकै कारणले अस्पतालको आइसियुमा धेरै सुधार आएको छ। कोभिडभन्दा अगाडि एनेस्थेसिया र क्रिटिकल केयर दुवैतिर काम गर्न बाध्य आचार्य अहिले क्रिटिकल केयरमा मात्र केन्द्रित हुन पाएका छन्।
'कोभिडकै कारण आइसियु चाहिने रहेछ डाक्टर, नर्स चाहिने रहेछ भन्ने स्थापित भएको छ। केही सीमितताको बीचमा अहिले हामीसँग टिम बनेको छ,' उनले भने, 'आइसियुको क्षमता पनि सुधारिएको छ। अझै अरू जनशक्ति थप्न पाए सजिलो हुन्थ्यो भन्ने लाग्छ।'
४५ वर्षीय डा.आचार्य अहिले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक हुन् भने क्रिटिकल केयर विभाग प्रमुख समेत हुन्। त्यस्तै उनको अर्को जिम्मेवारी पनि छ। उनी त्यहाँको फार्मेसी संयोजक समेत हुन्।
'म यहाँको फार्मेसी संयोजक हुँ। धेरै खालका औषधी हाम्रो फार्मेसीमा सस्तोमा पाइन्छ,' उनले भने, 'कुनै प्रोडक्टमा कसैले टेन्डर नै नहालेर ल्याउन नपाएको बाहेक सबै खालका औषधी छन्। आर्थिक रूपमा हेर्ने हो टिचिङ हस्पिटलको फार्मेसीले राम्रो आम्दानी दिएको छ।'
(त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख प्राध्यापक.डा.सुवास आचार्यसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)