नेपाल प्रहरीमा हरेक दिनजसो १६२ वटा मुद्दा दर्ता हुने गर्छन्। दर्ता हुने अपराधको अनुसन्धान तथा तथ्यांकको विश्लेषण प्रहरीले गर्ने गरेको छ।
बुधबार प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी चार महिनाको अपराधको तथ्यांक विश्लेषण गरेको हो।
साउनदेखि कात्तिक मसान्तमसम्म भएका अपराधका गतिविधिलाई विश्लेषण गरी प्रहरी प्रवक्ता एवं एसएसपी विश्व अधिकारीले यसबारे जानकारी दिएका हुन्।
हरेक दर्ता हुने मुद्दाहरूमा सबैभन्दा धेरै अर्थात दैनिकजसो सरदरमा २० वटा आत्महत्याका घटना हुने गरेको छ। त्यसपछि सात वटा जबरजस्ती करणीको मुद्दा दर्ता हुने गरेको एसएसपी अधिकारीले बताए।
त्यस्तै २४ घण्टामा सामान्यतया: ११७ जना पक्राउ पर्छन्।
यो आर्थिक वर्षको चार महिनामा हेर्ने हो भने सबैभन्दा धेरै मुद्दा काठमाडौं उपत्यकामै दर्ता भएको छ। १९ हजार ४९८ मुद्दा दर्ता हुँदा काठमाडौंमा मात्रै ५ हजार ५४५ मुद्दा दर्ता भएका छन्।
अघिल्लो आर्थिक वर्षको चार महिनामा १८ हजार ९९८ मुद्दा दर्ता हुँदा ५ हजार ३७० वटा मुद्दा दर्ता भएका छन्। त्यसपछि कोशी प्रदेशमा मुद्दाको संख्या वृद्धि हुँदा मधेस प्रदेशमा भने घटेको प्रहरीको तथ्यांकले देखाएको छ।
अघिल्लो वर्ष कोशीमा २ हजार ८३२ मुद्दा दर्ता हुँदा यस वर्ष ३ हजार २४० मुद्दा दर्ता भएका हुन्।
मधेसमा भने अघिल्लो वर्ष ३ हजार १६३ मुद्दा दर्ता हुँदा यस वर्ष २ हजार ९९४ मुद्दा दर्ता भएका छन्।
सबैभन्दा कम मुद्दा कर्णालीमा दर्ता भएका छन्। त्यहाँ भने मुद्दामा धेरै घटबढ भएको देखिन्न। अघिल्लो वर्ष ६६३ मुद्दा दर्ता हुँदा यस वर्ष ६२८ मुद्दा दर्ता भएका छन्।
मुद्दा दर्ताको स्थितिलाई हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मुद्दा दर्ता हुने गरेको देखिन्छ। तर अपराधको किसिम अनुसार हेर्दा पाँच किसिमका अपराध सबैभन्दा धेरै कोशी प्रदेशमा हुने गरेको छ।
एसएसपी विश्व अधिकारीका अनुसार कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, लागुऔधष र आत्महत्याका घटना धेरै कोशीमा हुने गरेको देखिएको हो। यो अन्य प्रदेशसँगको तथ्यांकगत तुलनामा देखाइएको हो।
कोशीमा कर्तव्य ज्यानका २३.९५ प्रतिशत, आत्महत्याका २१.६० प्रतिशत, जबरजस्ती करणीका २३.६९ प्रतिशत र जबरजस्ती करणी उद्योग १९.३५ प्रतिशत मुद्दा दर्ता भएका छन्। लागु औषधका घटना पनि कोशीमै सबैभन्दा धेरै दर्ता हुने गरेको छ।
बैंकिङ कसुरका घटना भने काठमाडौं उपत्यकामा धेरै भएको देखिन्छ। उपत्यकामा मात्रै ५७.७७ प्रतिशत मुद्दा दर्ता भएका छन्।
यसरी कोशी प्रदेशमा सबैभन्दा धेरै मुद्दा दर्ता हुनुको कारणबारे पनि एसएसपी अधिकारीले खुलाएका छन्।
‘कोशीको जनसंख्या, भुगोल, सुरक्षा चुनौति, शिक्षा लगायत विभिन्न कारणले गर्दा पनि धेरै घटनाहरू देखिएको हो,’ उनले भने।