ललितपुर महानगरले पाँच ठाउँमा 'इन्टेलिजेन्ट ट्राफिक लाइट' औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
सोमबार महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरेका हुन्।
महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म विभिन्न पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ। इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारी साधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्ने दाबी गरिएको छ।
महानगरले पहिलो चरणमा पुल्चोकमा दुई वटा, कानदेवता, दमकल र जावलाखेल चोकमा गरी पाँचवटा लाइट जडान गरेको सहरी विकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए।
लाइटसँगै राखिएको भेहिकल डिटेक्टर मेसिनले सडकमा सवारी साधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउने सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनले जानकारी दिए।
'यस सिस्टमले जता धेरै सवारी साधन छन्, त्यतातिर हरियो बत्ती बाल्छ,' उनले भने, 'काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्छ।'
महानगरका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापनका लागि यस किसिमको बत्ती नेपालमै पहिलो पटक भएको दाबी गरे।
यस्तै, नयाँ सिस्टम भएकाले जनचेतना जगाउन नगर प्रहरी र स्कुलका विद्यार्थीलाई परिचालन गर्ने प्रमुख महर्जनले बताए। अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने योजना रहेको बताए।
महानगरका अनुसार लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि छ। यससँगै राखिएको भेहिकल डिटेक्टरले सवारी साधनको नम्बर तथा विवरण रिड गर्छ। सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो आफै सेट गर्नेछ।
हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ भने यो लाइट फिक्स , पुलिस म्यानुअल , सिङ्क्रोनाइजेशन, एटिसिएस लगायत आवश्यकता अनुसारको मोडमा प्रयोग गर्न सकिने छ।
प्राविधिक सुयोसभक्त माथेमाका अनुसार यी बत्तीमा पाँच वर्षसम्म डेटा स्टोर हुन्छ यो लाइटले सवारीसाधनको र दुर्घटनाको रेकर्ड समेत रहन्छ।