हावा (अक्सिजन), पानी र खानाको महत्त्वबारे '३ को नियम' एकदमै प्रचलित छ।
यो नियमले भन्छ — सामान्य मान्छे हावा (अक्सिजन) बिना ३ मिनेट बाँच्न सक्छ, पानीबिना ३ दिन र खानाबिना ३ साता बाँच्न सक्छ।
यो नियम आम रूपमा स्वीकार गरिएको भए पनि सबै व्यक्तिका लागि बराबर लागू हुँदैन।
एक अन्तर्राष्ट्रिय जर्नलमा छापिएको अनुसन्धानपत्रले कोही पनि व्यक्ति पानी नखाई ५-६ दिनभन्दा बढी बाँच्न सक्दैन भनेको छ। अस्ट्रियाका एक १८ वर्षीय व्यक्तिले पानी र खाना नखाई १८ दिन बाँचेर रेकर्ड राखेका थिए। त्यो अवधिमा उनी लगभग मृत्यु नजिक पुगेका थिए।
अब प्रश्न उठ्छ — कुनै पनि मान्छेले स्वस्थ रहन दिनमा कति पानी पिउनुपर्छ? र, कसरी पिउनुपर्छ?
पछिल्लो समय स्वास्थ्यप्रति सचेतना जति बढ्दैछ, दैनिक कति पानी पिउनुपर्छ भन्ने प्रश्नमा मान्छेहरू उति घोत्लिन थालेका छन्। टिकटक र इन्स्टाग्राम रिल्समा समेत दिनको यति लिटर पानी पिउनुपर्छ भन्ने खालका सचेतनामूलक भिडिओ अपलोड गर्ने क्रम बढेको छ। यस्ता भिडिओ दसौं करोडभन्दा बढी हेरिएका हुन्छन्। यसले मान्छेलाई पानी कति पिउनुपर्छ भन्ने प्रश्नले पिरोलेको प्रस्ट हुन्छ।
पोषणसम्बन्धी अनुसन्धाताहरूका अनुसार पानी पिउनु भनेको शरीरलाई आराम दिनुजस्तै हो।
चौबीसै घन्टा काममा घोटिँदा हाम्रो शरीरका अंगहरू चलेका चल्यै हुन्छन्। कुनै पनि मेसिन लामो समय टिकाउन त्यसका पार्टपूर्जालाई बेला बेला विश्राम दिएजस्तै शरीरका अंगलाई पनि विश्रामको खाँचो पर्छ। पानी पिउनु भनेको शरीरलाई विश्राम दिनु वा थाकेका अंगमा नयाँ प्राण भर्नु हो। यसले शरीरका फोहोर पदार्थ बाहिर फाल्न मद्दत गर्नुका साथै शरीरको तापक्रम र रक्तचाप नियन्त्रणमा राख्छ।
त्यसैले प्यास लाग्दा वा गर्मी हुँदा मात्र होइन, सामान्य अवस्थामा पनि निश्चित परिमाणको पानी पिइरहनुपर्छ। एकैचोटि दुई-तीन लिटर घटाघट पिउनुभन्दा दिनभरिमा मात्रा मिलाएर पटक-पटक पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
अमेरिकाको नेसनल एकेडेमी अफ मेडिसिनले दिनको कति पानी पिउनुपर्छ भनेर अध्ययन गरेको थियो। सन् २००४ मा गरिएको उक्त अध्ययनअनुसार सामान्य पुरूषको शरीरलाई स्वस्थ रहन दिनको ३ लिटर पानी चाहिन्छ। महिलाहरूलाई अलि थोरै भए पुग्छ। एक स्वस्थ महिलाले दिनको २.२ लिटर पानी पिउनुपर्ने उक्त अध्ययनले देखाएको छ।
अध्ययनले यो पनि भन्छ — पानीको आवश्यकता मान्छेको शरीरअनुसार फरक पर्छ। सबैलाई बराबर मात्राको पानी चाहिन्छ भन्ने निश्चित हुँदैन। कसैलाई सामान्यभन्दा बढी चाहिन्छ, कसैलाई सामान्यभन्दा कम भए पुग्छ।
अध्ययनअनुसार जो मान्छे शारीरिक रूपले बढी सक्रिय हुन्छ, जसले शारीरिक परिश्रम धेरै गर्छ र जसले शारीरिक व्यायाममा धेरै समय बिताउँछ; उसलाई दिनको ३ लिटर मात्र पानी खाएर पुग्दैन। शारीरिक परिश्रम गर्दा जीउबाट धेरै पसिना बग्छ। पसिनाका रूपमा खेर गएको पानीको मात्रा परिपूर्ति गर्न उसले सामान्यभन्दा बढी पानी पिउनुपर्छ।
मान्छेको शरीरलाई कति पानी चाहिन्छ भन्ने मौसममा पनि भर पर्छ। चिसो ठाउँमा बस्ने मान्छेको दाँजोमा गर्मी ठाउँमा बस्नेले बढी पानी पिउनुपर्छ। तपाईं काठमाडौंबाट मधेस जानुभयो भने बढी गर्मी महसुस हुन्छ। गर्मीमा धेरै पसिना आउँछ र यसले शरीरबाट पानीको मात्रा तीव्र गतिमा घट्छ। त्यसलाई परिपूर्ति गर्न सामान्यभन्दा धेरै पानी पिउनुपर्छ।
कतिपय व्यक्तिलाई गर्मी ठाउँमा जाँदा धेरै पसिना बगेर रिंगटा लाग्ने सम्भावना हुन्छ। यसो हुनु भनेको शरीरमा पानीको मात्रा कम भयो भन्ने संकेत हो।
शरीरलाई चाहिने पानीको मात्रा मौसममा मात्र निर्भर गर्दैन। तपाईंको ज्यान ठूलो छ वा मासंपेसीहरू ठूला छन् भने धेरै पानी पिउनुपर्छ। झाडापखाला लागेको छ भने त्यस्तो अवस्थामा पनि सामान्यभन्दा धेरै पानी पिउनुपर्छ। गर्भवती वा बच्चालाई दूध खुवाइरहेका महिलाले पनि बढी पानी पिउनुपर्छ।
त्यस्तै, मिर्गौलाको पत्थरी वा पिसाबसम्बन्धी समस्या भएको व्यक्तिले अरूभन्दा धेरै पानी पिउनुपर्ने विज्ञहरू बताउँछन्।
शरीरलाई चाहिने पानीको मात्रा हरेक उमेरमा एउटै हुँदैन। उमेरअनुसार फरक पर्दै जान्छ।
'उमेर बढ्दै जाँदा मान्छेको शरीरमा मासंपेसी घट्छ, बोसोको मात्रा बढ्छ,' अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनिया अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सिद्धार्थ शाह भन्छन्, 'मासंपेसीको तुलनामा बोसोमा पानीको मात्रा थोरै हुन्छ। त्यसैले उमेर बढ्दै जाँदा पानी पिउने मात्रा घट्दै जान्छ।'
'यति हुँदाहुँदै कतिपय वृद्ध व्यक्ति आफूलाई चाहिने न्यूनतम पानी पनि पिउँदैनन्। उमेर बढ्दै गएपछि तिर्खा लागेको छ भन्ने पनि थाहा हुन छाड्छ। त्यसैले वृद्ध उमेरमा हाम्रो शरीरले तिर्खा लागेको अनुभूति कम गर्न सक्छ। जुन अवस्थामा ४० वर्षको मान्छेलाई तिर्खा लाग्छ, त्यही अवस्थामा ८० वर्षको मान्छेले तिर्खा लागेको अनुभव नगर्न सक्छ,' उनले भने।
तिर्खा र पानीको आवश्यकता शरीरअनुसार फरक भए पनि एउटा कुरामा विज्ञहरू सहमत छन् — तिर्खा लाग्नु भनेको शरीरलाई पानी चाहिएको छ भन्ने संकेत हो। त्यसैले तिर्खा लाग्दा पानी खान ढिला गर्नु हुन्न। यसले मिर्गौला लगायत शरीरका विभिन्न अंगलाई एकैचोटि हानि पुर्याउन सक्छ।
हाम्रो शरीरले पानीको मात्रा कम भयो भनेर विभिन्न रूपमा संकेत गर्छ। छिनछिनमा जाडो महसुस हुनु पानी कम भएको संकेत हो। छाला खस्रो हुँदै जानु पनि पानी कम भएको संकेत हो। टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा सुख्खा हुने लगायतलाई पनि शरीरमा पानी नपुगेको संकेतका रूपमा बुझ्नुपर्छ।
'सुत्नुअघि पर्याप्त पानी पिएको छैन भने उठ्ने बेला शरीरमा पानीको मात्रा एकदमै कम भएको हुनसक्छ,' ह्युस्टनका डा. एलिसिया रोबिका भन्छिन्, 'त्यसैले उठ्नेबित्तिकै एक-दुई गिलास पानी पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ।'
कतिपय व्यक्ति लगातार चिया वा कफी पिइरहेका हुन्छन्। उनीहरू चिया वा कफीले पनि शरीरलाई चाहिने पानीको मात्रा पूरा गर्छ भन्ने सोच्छन्। तर यो गलत हो। चिया वा कफीले हाम्रो शरीरलाई चाहिने पानीको मात्रा पूरा गर्ने होइन, उल्टै शरीरमा भएको पानी सोस्छ। त्यसैले चिया वा कफी जति खायो, उति बढी पानी पिउनुपर्छ।
कार्बोनेटेड ड्रिंक वा सोडालाई पानीको विकल्प ठान्नु पनि गलत हो। यिनमा शरीरलाई चाहिनेभन्दा बढी नुन वा चिनी हुन्छ, जसले उल्टै हानि गर्छ।
त्यसैले हामीले के बुझ्नुपर्छ भने — पानीको पूर्ति पानीले नै गर्छ, अरू कुनै पनि पेयले गर्दैन।
रक्सी खाएका बेला पनि शरीरमा पानीको मात्रा घट्छ। रक्सी खाएको भोलिपल्ट टाउको दुखेर 'ह्याङओभर' हुने मुख्य कारण यही हो। यस्तो नहोस् भनेर पर्याप्त पानी पिउने गर्नुपर्छ। कतिपय अध्ययनले रक्सीको मात्राभन्दा दुई वा तीन गुणा धेरै पानी पिउनुपर्ने देखाएको छ।
हामीले केही खानेकुरा, खासगरी फलफूल र तरकारीबाट पनि पानी प्राप्त गर्न सक्छौं। दाल, दूध, दही, मोहीजस्ता झोलिला पदार्थ र खरबुजाबाट पनि शरीरलाई चाहिने पानीको आपूर्ति भइरहेको हुन्छ। अमेरिकाको नेसनल एकेडेमी अफ मेडिसिनले गरेको अध्ययनबाट मान्छेले आफ्नो शरीरलाई चाहिने औसत २० प्रतिशत पानी खानाबाट प्राप्त गर्ने देखिएको छ।
यी त भए हामी मान्छे पनि माछाजस्तै पानीबिना बाँच्न सक्दैनौं भनेर पुष्टि गर्ने तथ्यहरू। तर हरेक कुराको सीमा हुन्छ। आवश्यकताभन्दा धेरै पानी पिउनु पनि शरीरका लागि हानिकारक हो।
हुन त मान्छेले सामान्यतया आफूलाई चाहिनेभन्दा धेरै पानी पिउँदैन। तर शारीरिक परिश्रम धेरै गर्ने व्यक्तिहरूले कहिलेकाहीँ एकदमै छिटो छिटो धेरै पानी पिउन सक्छन्। यसले शरीरमा सोडियम र पोटासियमको मात्रा असन्तुलित भएर समस्या उत्पन्न हुन सक्छ।
सेतोपाटीले केही समयअघि वीर अस्पतालका कन्सल्टेन्ट युरोसर्जन तथा युरोलोजी विभाग प्रमुख डा. रबिन बस्नेतसँग मिर्गौलाका बिरामीले गर्ने गल्तीबारे कुरा गरेको थियो। कुराकानी क्रममा उनले हाम्रो शरीरलाई चाहिने पानीबारे पनि जानकारी दिएका थिए।
डा. बस्नेतका अनुसार सामान्य काम गर्ने ६० देखि ७० किलोका व्यक्तिले दिनको कम्तिमा तीन लिटर पानी पिउनुपर्छ। पसिना आउने गर्मीको मौसममा पानीको मात्रा अझ बढाउनुपर्छ। शारीरिक श्रम जति धेरै गर्यो, उति बढी पानी पिउनुपर्छ।
तर डाक्टरले तीन लिटर पानी पिउनू भने पनि त्यो पानी कसरी पिउने बिरामीलाई थाहा हुँदैन। कतिपय बिरामीले एकैचोटि डेढ-दुई लिटर पानी पिइदिन्छन्। यसले थप समस्या निम्त्याउँछ।
'तीन लिटर पानी पिउने नाममा दिनभरि एक थोपा मुखमा नहाल्ने, अनि एकैचोटि डेढ-दुई लिटर खाइदिनु पनि गल्ती हो,' डा. बस्नेतले भने, 'एकचोटिमा १५० देखि ३०० मिलिलिटर पानी पिउनुपर्छ र यही मात्रा मिलाउँदै दिनमा १० देखि १२ पटक पिउनुपर्छ।'
एकैचोटि धेरै पानी पिउँदा एकैचोटि धेरै पिसाब बन्छ। मिर्गौलाले धेरै काम गर्नुपर्छ। अरू बेला चाहिँ शरीरमा पानीको मात्रा कम हुन्छ। यसले ढुंगा बनाउन मद्दत गर्छ।
'सामान्यतया एकचोटि पिसाब फेरेपछि त्यसको दुई घन्टापछि मात्र पिसाब आउने हुनुपर्छ। छिनछिनमा पिसाब फेर्नुपर्ने अवस्था सामान्य होइन। दिनको आठचोटि र रातमा एकदेखि दुईचोटि पिसाब फेर्नु सामान्य हो। त्योभन्दा बढी वा त्योभन्दा कम पिसाब फेर्नुपरेको छ भने शरीरमा पानीको मात्रा सन्तुलित छैन वा पानी खाएको मिलेको छैन भन्ने बुझ्नुपर्छ,' उनले भने।
उनका अनुसार शारीरिक परिश्रम नगरेका बेला वा अत्यधिक गर्मी नभएका बेला दिनकै ७-८ लिटर पानी खाइदियो भने मिर्गौलाले एकैपटक छान्न सक्दैन।
यस्तो अवस्थामा बढी भएको पानी खुट्टामा गएर जम्न थाल्छ। यसले खुट्टा सुन्निन सक्छ। फोक्सोमा पानी जमेर स्याँ स्याँ पनि हुन सक्छ।
***