अमेरिकाको एबिसी न्युजले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई एक करोड ५० लाख डलर तिर्ने भएको छ।
एबिसी न्युजका जोर्ज स्टेफानोपोलसले मार्च १० मा अन्तर्वार्ता लिने क्रममा ट्रम्प बलात्कार मुद्दामा दोषी ठहरिएको बताएका थिए। डेमोक्र्याटिक पार्टी निकट स्टेफानोपोलसले बलात्कारमा दोषी भनेको सो मुद्दामा ट्रम्पलाई अदालतले लेखक इ जीन क्यारोललाई यौन दुर्व्यवहार र मानहानी गरेको फैसला सुनाए पनि बलात्कार गरेको प्रमाण नपुगेको भनेको थियो। ट्रम्पलाई क्षतिपूर्तिस्वरूप क्यारोललाई आठ करोड ३३ लाख डलर पनि तिर्न आदेश भएको थियो। त्यसका विरूद्ध ट्रम्पले पुनरावेदन गरेका छन्।
डेमोक्र्याटिक पार्टीका बिल क्लिन्टन राष्ट्रपति हुँदा सन् १९९३ मा स्टेफानोपोलसले उनको सचिवालयमा पहिले सूचना निर्देशक र पछि वरिष्ठ सल्लाहकारका रूपमा काम गरेका थिए।
स्टेफानोपोलसले आफूलाई बलात्कारी भनेको विषयमा ट्रम्पले हालेको मानहानीको मुद्दा अदालत बाहिर मिलाउन एबिसी न्युजले १ करोड ५० लाख डलर रकम बुझाउन तयार भएको हो। त्यसबाहेक ट्रम्पले गर्नु परेको कानुनी खर्चको लागि १० लाख डलर तिर्न पनि एबिसी न्युज तयार भएको हो।
एबिसी न्युजले स्टेफानोपोलसले बोलेको अभिव्यक्तिप्रति क्षमा माग्दै वक्तव्य जारी गर्ने पनि भनिएको छ। एबिसी न्युजका प्रवक्ताले दुई पक्ष सम्झौतामा पुगेकाले खुसी भएको बताएको छ।
सन् २०२३ मा न्यु योर्क सिभिल कोर्टले ट्रम्पले क्यारोलमाथि यौन दुर्व्यवहार गरेकोमा दोषी ठहरेको थियो।
सन् १९९६मा डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रूममा दुर्व्यवहार भएको थियो। ट्रम्पले ती महिलाको मानहानी गरेकोमा पनि दोषी ठहर गरेको थियो। त्यस घटनामा बलात्कारको आरोप लगाइए पनि दाबी पुगेको थिएन।
गत मार्च १० मा स्टेफानोपोलसले साउथ क्यारोलिनाका रिपब्लिकन कंग्रेसवमन न्यान्सी मेसले ट्रम्पलाई कसरी समर्थन गर्न सकेको भनेर सोधेका थिए।
प्रश्न गर्दा पत्रकारले गलत व्यख्या गर्दै भनेका थिए, ‘जज र दुई जुरीले उनलाई बलात्कार मुद्दामा दोषी ठहर्याएको छ।’
यसक्रममा स्टेफानोपोलसले यो दाबीलाई १० पटकसम्म दोहोर्याएको बिबिसीले जनाएको छ।
ट्रम्पले यसअघि सीएनएन, द न्युयोर्क टाइम्स र द वासिङटन पोस्टलाई पनि विभिन्न विषय र समयमा मानहानी मुद्दा हाले पनि ती मुद्दा हारेका थिए। यो मुद्दा पनि उनलाई जित्न मुश्किल मानिएको थियो।
उनी सार्वजनिक व्यक्तित्व भएकाले मानहानी पुष्टि हुन एबिसीले गलत सूचना प्रसारण गरेको मात्रै नभएर सो सूचना गलत भएको थाहा पाउँदा पाउँदै प्रसारण गरेको साबित गर्नुपर्ने थियो।
अमेरिकाको संविधानको पहिलो संशोधनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नका लागि प्रेसलाई व्यापक अधिकार दिएको छ। त्यसकारण ट्र्म्पले यो मुद्दा जित्न मुस्किल मानिए पनि एबिसीले मुद्दा लम्ब्याउन नखोजेर मिलाउनका लागि ट्र्म्पलाई त्यति ठूलो रकम तिर्न राजी भएको छ।