भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव सुरू भएको छ।
शुक्रबारदेखि सुरू भएको महोत्सवमा नगरपालिकाले तोकेका विभिन्न ३२ स्थलमा भक्तपुरका महत्वपूर्ण सांस्कृतिक गतिविधि देखाइएको छ। यहाँका चोक र गल्लीहरूमा पनि स्थानीयले विभिन्न आकर्षक गतिविधि गरेका छन्।
महोत्सवको आकर्षणका रूपमा सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला, तस्बिर प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, खाना महोत्सव, हलिमलि, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रंगाउने, कुमारी (जीवित देवी) प्रदर्शनी, दिपंकर बुद्ध प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, नौका बिहार, मृत्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी लगायत छ।
त्यस्तै, परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी, नौ बाजा प्रदर्शनी, दही महोत्सव, बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी, सहकारीहरूको गतिविधि प्रदर्शनी, बालबालिकामैत्री गतिविधि लगायत छन्।
महोत्सवकै अवसर पारेर शुक्रबार खुला बाँसुरी बाजा प्रतियोगिताको आयोजना भएको थियो।
भक्तपुरका मेयर सुनिल प्रजापतिका अनुसार विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य छ।
‘महोत्सवभर भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुद लगायतका विभिन्न गतिविधि प्रदर्शन हुनेछ,’ उनले भने।
यो महोत्सव पुस २ गतेसम्म चल्नेछ।