काठमाडौं मोडेल माध्यमिक विद्यालयले स्थापनाको २५औं वर्षलाई रजत महोत्सवका रूपमा भव्यतापूर्वक सम्पन्न गरेको छ।
विद्यालयले शनिबार औपचारिक कार्यक्रमको आयोजना गरी रजत जयन्तीको उद्घाटन गरेको छ। सो अवसरमा विद्यालयले ६.३ किलोमिटर दूरीको मिनि म्याराथन प्रतियोगिता पनि सम्पन्न गर्यो।
राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त दौडमा ३५ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।
छात्र र छात्रालाई छुट्टाछुट्टै रूपमा आयोजना गरिएको दौडको रुट बागबजारबाट पुतली सडक, कमलादी हुँदै कमलपोखरी, ज्ञानेश्वर, गौशालाचोक, पुरानो वानेश्वर, सेतो पुल, मैतीदेवी, डिल्लीबजार हुँदै पुनः बागबजारसम्म निर्धारण गरिएको थियो।
दौडलाई व्यवस्थित गर्नका लागि दशभन्दा बढी स्थानमा स्वयम् सेवक, शिक्षक शिक्षिका र कर्मचारी परिचालन पनि गरिएको थियो। म्याराथन दौडमा छात्रतर्फ अभिषेख मगर प्रथम, सुदिप थपलिया द्वितीय र निराजन पुन तृतीय भएका थिए भने छात्रातर्फ निकिता कुँवर प्रथम, कृष्टिना कतिला द्वितीय र निर्मला वि.क. तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए।
दुबैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रूपैयाँका दरले नगद पुरस्कार मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो।
यस्तै दुबैतर्फ दसौं स्थानसम्म प्राप्त गर्न सफल भएका धावकहरूलाई पनि नगद पुरस्कार र प्रमाण–पत्र वितरण गरिएको थियो।
म्याराथनपछि रजत जयन्तीको औपचारिक उद्घाटन गरियो। विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रजत जयन्ती मूल आयोजक समितिका संयोजक एवम् विद्यालयका प्राचार्य डा. नगेन्द्र बहादुर अर्यालले रजत उत्सवका अवसरमा विद्यालयले वर्षभरिमा सम्पन्न गर्ने कार्यक्रमको घोषणा गरे।
उनले यस वर्ष विद्यालयले आफ्नो स्थापनाको २५ औं वर्षमा २५ ओटा विशेष कार्यक्रमको आयोजना गर्ने बताए।
यसअन्तर्गत रजत जयन्ती विशेष स्मारिका प्रकाशन र भव्य समारोहबीच त्यसको विमोचन गर्ने, स्कुल आउट रिच प्रोग्रामअन्तर्गत शिक्षा क्षेत्रमा विशेष योगदान दिने देशभरीका विद्यालयहरूलाई विशेष सम्मान गर्ने, अल्मुनाइ आउटरिच कार्यक्रमको आयोजना गरी देशभरका मेडिकल र इन्जिनियरिङ कलेजमा अध्ययन गरिरहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई कलेजमा नै गएर सम्मान गर्ने, के.एम.सी. रजत जयन्ती छात्रवृत्तिअन्तर्गत सन् २०२५ को भर्नामा २५ जना विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति प्रदान गर्नेलगायतका कार्यक्रमहरू रहेको प्राचार्य डा. अर्यालले बताए।
यस्तै यस अवसरमा विद्यालयले निःशुल्क स्वास्थ्य शिविर, आल्मुनाइ एसोसिएसनसँगको सहकार्यमा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, एजुकेसनले कन्क्लेभजस्ता कार्यक्रमको आयोजना गर्ने योजना रहेको पनि प्राचार्यले जानकारी दिए।
उनले कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त मालीगाउँ, महानगरीय ट्राफिक, नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखा, काठमाडौं महानगरपालिका वडा नं. २८ को कार्यालय, पत्रकारहरूलगायतका सबैलाई धन्यवाद ज्ञापन गरे।