काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको न्यूनतप तापक्रम २ डिग्री सेल्सियस मापन भएको हो।
बिहान ५ बजेभन्दा अगाडिको मापनमा काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस थियो।
आज मापन भएको तापक्रम काठमाडौंमा यो वर्षकै कम तापक्रम हो। काठमाडौंबाहेक अन्य स्थानमा पनि तापक्रम क्रमशः घट्दै गएको छ।
महाशाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस मापन भएको छ।
त्यस्तै दिपायलको न्यूनतम तापक्रम माइनस ३.४ डिग्री सेल्सियस, डडेलधुराको ४.९, धनगढीको ६.९, विरेन्द्रनगरको ४.१, नेपालगन्जको ६.५, घोराहीको ६, पोखरामा ५.६ , ओखलढुंगामा ४.७ डिग्री सेल्सियस मापन भएको छ।
पोस्ट मनसुनबाट जाडो सिजनतर्फ जाँदै गर्दा मौसमी प्रणाली सक्रिय नहुँदा आकाशमा बादल छैन। बादल नहुँदा दिउँसो तापक्रम अलि माथिसम्म पुग्ने र खुल्ला आकाश हुँदा बिहान न्यूनतम तापक्रम घट्ने मौसमविदहरूले बताएका छन्।